ad ad

समाज


डेन्टल क्लिनिकको लापरवाहीले नवविवाहिताको ज्यान गयो

डेन्टल क्लिनिकको लापरवाहीले नवविवाहिताको ज्यान गयो

शैलेन्द्र महतो
चैत १०, २०७६ सोमबार ११:१०,

बर्दिबासस्थित साझा कान्तिपुर डेन्टल क्लिनिकको लापरवाहीले एक नवविवाहिताको ज्यान गएको छ। धनुषाको मिथिला नगरपालिका ९ बेंगाडावर बस्ने अमिरी महतोकी १९ वर्षीया श्रीमती रानीकुमारी महतोको चिकित्सकको लापरवाहीले ज्यान गएको हो।

गएको शनिबार कान्तिपुर डेन्टलमा दुईवटा दाँत उखेलिएपछि सिकिस्त बनेकी रानीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोहि दिन दिउँसो ३ बजे मृत्यु भएको पति अमिरीले जानकारी दिए।

रानीको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ। घटना पश्चात डेन्टल क्लिनिक बन्द छ।

यता इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले दाँत उखेल्दा मृत्यु भएको भन्ने विषयमा आइतबार राति मात्र थाहा पाएको र दाँत उखेलिएको कान्तिपुर डेन्टलमा जाँदा बन्द रहेको बताए।

‘अस्ति राति हामीलाई रानीको मृत्यु भएको खबर अयो। शव पोस्टमार्टम भएपछि मात्र के कारणले मृत्यु भएको खुल्छ’ उनले भने ‘र्दुइवटा दाँत उखेल्दैमा मृत्यु हुनु नपर्ने हो। घटना विषयमा बुझ्न कान्तिपुर डेन्टलमा आइतबार पुग्दा बन्द थियो। घटना विषयमा हामी थप अनुसन्धान गरिरहेका छौं। दोषी जो कोहि भए पनि उम्कन दिन्नँ।’

डेन्टल क्लिनिककै लापरबाहीले रानीको मृत्यु भएको परिवारजनको दावी छ। शवको पोष्टमार्टम आज प्रादेशिक अस्पतालमा भइरहेको परिवारिक श्रोतले जनाएको छ।

सर्लाहीको घुरकौलीकी रानी गएको माघ २८ गते मात्र अमिरीसँग वैवाहिक बन्धनमा गाँसिएकी थिइन्।

यसरी भयो घटना
घटना गत शनिबारको हो। रानीलाई बिहान दाँत दुखेपछि पति अमिरीले उनको उपचार गराउन बर्दिबासको कान्तिपुर डेन्टलमा लगेका थिए। त्यहाँका चिकित्सकले दुखेको दुईवटा दाँत झिक्नु पर्ने सल्लाह दिँदै दाँत झिकेका थिए। दाँत झिकेपछि डाक्टरले रानीलाई चिसो ड्यु खुवाइदिन भनेका थिए।

घरपरिवारका अनुसार ड्यु खाएर घर फर्केपछि रानीलाई १।२ पटक वान्ता भएको थियो। त्यसपछि सिकिस्त भएकी उनलाई ढल्केबरको प्राथमिक उपचार केन्द्रमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

भर्ना भएको आधाघण्टा पश्चात दिउँसो ३ बजेतिर मृत्यु भएको परिवारले जनाएको छ। डेन्टल क्लिनिकको बोर्डमा बी.डी.एस्. डा. सरस्वती साहको नाम उल्लेख छ।

लापरवाही नगरेकाे क्लिनिकका सञ्चालककाे दाबी
यता कान्तिपुर डेन्टल क्लिनिकका सञ्चालक दिलीप महतोले आफूहरुको लापरवाहीले रानीको मृत्युु नभएको दाबी गरे।

'दाँत उखेलेर पठाएसम्म रानीको अवस्था समान्य थियो। पछि के कति कारणले मृत्यु भएको हो भन्ने कुरा हामीलाई थाहा छैन। पोस्टमार्टम रिपोर्टले यदि चिकित्सकले दाँत उखेलेकै कारण मृत्यु भएको पुष्टि हुन्छ भने हामी कारबाही भोग्न तयार छौं' उनले भने 'हामी क्लिनक बन्द गरेर फरार भएका छैनौं। नेपाल डेन्टल एसोसिएसनले कोरोना संक्रमण रोक्न आइतबारदेखि डेन्टल क्लिनिक बन्द आह्वान गरेकाले बन्द गरेका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .