नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अस्कल क्याम्पस मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष प्रकाश बयकमाथि प्रहरीले कुटपिट गरेको आरोप लागेको छ।
बुधबार राति अस्कल होटेलबाट पक्राउ गरी उनीमाथि कुटपिट भएको अनेरास्वियुका अध्यक्ष समीक बडालले जारी विज्ञप्तिमा उल्लेख छ।
बडालले बिहीबार जारी विज्ञप्तिमा गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको उल्लेख गरेका छन्। उनले घटनाको तत्काल छानबिन गरी दोषीहरूलाई कारबाहीको माग पनि गरेका छन्।
दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी पनि बडालले दिएका छन्।
बयकलाई बुधबार राति अन्दाजी ७ बजेतिर नेपाल प्रहरीको प्रतिनिधी हुँ भन्दै दरबार वृत्तको प्रहरीले अस्कल होस्टल बाहिर बोलाई उठाएर लगेको र टोखा पुर्याएर विभिन्न आरोपमा नाक, मुख र आँखा सुन्निने गरी कुटपिट गरेको दाबी विज्ञप्तिमा छ।
केही दिनअघि काठमाडौँको ठमेलमा अखिलका कार्यकर्ताले प्रहरीमाथि हातपात गरेका थिए। उनीहरू राजनीतिक शक्तिका आडमा अझै पक्राउ परेका छैनन्।

Shares

प्रतिक्रिया