बालेन्द्र शाह मेयर बनेपछि काठमाडौँ महानगरपालिकाले सार्वजनिक विद्यालयको पूर्वाधार तथा शैक्षिक सुधारका लागि उल्लेख्य लगानी गरेको छ। चालु आर्थिक वर्ष ०८१/८२ मा महानगरभित्रका स्कुलहरूमा संघीय सरकारको लगानीभन्दा झण्डै दोब्बर बढी बजेट कामनपाले छुट्याएको छ।
महानगरपालिकाले आन्तरिक स्रोतबाट शिक्षामा २ अर्ब १५ करोड ९२ लाख ९५ हजार बजेट छुट्याएको छ। संघीय बजेट १ अर्ब ३२ करोड ९ लाख ६९ हजार छ।
स्थानीय तहहरूमा जाने संघीय अनुदानको ठूलो हिस्सा शिक्षकको तलबमा खर्च हुने गरेको छ। यसैकारण स्रोतको अभाव देशैभरिका सार्वजनिक विद्यालयले खेप्नुपरेको साझा समस्या हो। त्यसमा पनि माध्यमिक तहको तुलनामा विद्यार्थी संख्या कम हुने कारण आधारभूत तहका विद्यालयले स्रोत पाउन झन् धेरै संघर्ष गर्नुपर्ने अवस्था छ।
कामनपाले गरेको लगानीका कारण माविका प्रधानाध्यापकहरू मात्र होइन, आविका प्रअहरू समेत निकै उत्साहित भएका छन्। ज्ञानविकास आवि, ज्ञानेश्वरका प्रअ श्याम थापा भन्छन्, ‘अहिले हामीले माग गरेपछि बजेट पाइन्छ। खाली हात फर्किनुपर्ने अवस्था छैन। पहिले विद्यालयमा केही गर्न मन लाग्यो भने दाता खोजिरहनुपर्थ्यो। अहिले धेरै सजिलो भएको छ।’
प्रअ थापाका अनुसार विद्यालयले कामनपाबाट प्रारम्भिक बाल विकास ईसीडी कक्षास्तरोन्नतिका लागि १२ लाख रूपैयाँ अनुदान पाएको छ। यसबाट ईसीडीका बालबालिकाका लागि सिकाइ सामग्री, खेल सामग्री, शौचालय, फर्निचर, प्ले स्टेसन बनेको छ। यसैगरी आईसीटी ल्याबका लागि २० लाख रूपैयाँ आएको छ।

‘कक्षाकोठाहरू डिजिटलाइज्ड बन्दैछन्। विद्यालयको सभाहल चुहिने भएको थियो। सभाहल निर्माणका लागि पनि विद्यालयको खातामा १० लाख पैसा आइसकेको छ,’ प्रअ थापाले खुसी हुँदै भने।
रुद्रमती आवि, बानेश्वरकी प्रअ मन्जु श्रेष्ठ अहिले मावि र प्रावि भनेर विभेद नभएको बताउँछिन्। कक्षा ५ सम्म चलेको उनको विद्यालयमा ६५ जना विद्यार्थी छन्।
उनी भन्छिन्, ‘संघीय सरकार र यो भन्दाअघिको स्थानीय सरकारबाट हाम्रो जस्तो विद्यार्थी संख्या कम भएको विद्यालयमा असाध्यै कम बजेट आउँथ्यो। अहिले धेरै राम्रो भएको छ। सुन्दर विद्यालयका लागि ४ लाख, ईसीडीका लागि ७ लाख आएको छ। ईसीडीका लागि पोहोर पनि बजेट आएको थियो। अपांगता भएका बालबालिकाका लागि समेत हुने गरेर यसपालि स्मार्ट शौचालय बनेको छ। पुरानो शौचालय मर्मतका लागि पनि ५ लाख रूपैयाँ आएको छ।’
अहिले जसरी कुनै पनि सरकारबाट शिक्षालाई उच्च प्राथमिकतामा राखेर लगानी नगरिएको श्रम राष्ट्रिय मावि, कुमारीगालका प्रअ नारायण नेपालको अनुभव छ। उनको विद्यालय गत वर्ष एसईई परीक्षामा शत प्रतिशत नतिजा (६८ जना विद्यार्थी) हासिल गर्दै महानगरपालिकाभित्र उत्कृष्ट सार्वजनिक विद्यालय भएको थियो।
प्रअ नेपाल भन्छन् ‘काठमाडौँ महानगरपालिकाले शिक्षामा गरेकोे लगानी प्रशंसनीय छ। शिक्षामा सीप लगायत धेरै कार्यक्रममा विद्यालयहरूलाई सहयोग गरेको छ। तलब बाहेक के आउँथ्यो र पहिले। संघीय सरकारले ७ कक्षासम्म दिँदै आएको दिवा खाजा त पाँचमा झार्यो।’
हाल संघीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीका दिवा खाजाका लागि १५ रूपैयाँ अनुदान दिने गरेको छ। यसमा १५ रूपैयाँ थप गरेर कामनपाले ३० बनाएको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई ३० रूपैयाँका दरले अनुदान दिँदै आएको छ।
स्थानीय तहलाई विद्यालय शिक्षाको जिम्मेवारी दिइयो भने बर्बाद हुन्छ भन्ने भाष्य बनिरहेको बेला काठमाडौँ महानगरपालिकाले भिजनसहित गौरवका योजना र स्वर्णिम योजनाअन्तर्गत सार्वजनिक विद्यालयमा पूर्वाधार, शिक्षण सिकाइ तथा नतिजा सुधार, विद्यार्थीको सिर्जनात्मक सिकाइ तथा व्यावहारिक सीपमा जोड दिँदै लगानी गरिरहेको छ।

शिक्षामा सीप कार्यक्रम
गौरवका योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ भन्ने मर्मका साथ कामनपाले तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालय तह पूरा गर्दा विद्यार्थीले शिक्षालाई सीपसँग जोड्न सकून् भनेर कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो।
यसमा सौन्दर्यकला र कपालशैली, पाककला, घरमा तार र बिजुली जडान, कृषि तथा सहरी खेती, काष्ठकला, मोबाइल मर्मत, पाइप जडान तथा मर्मतलगायत दस विधामा ९० घण्टाको तालिम दिइन्छ। विद्यार्थीले आफ्नो रुचि अनुसारको विधा रोज्ने गरेका छन्।
बाँसबारी मावि, बाँसबारीमा तीनवटा विधामा तालिम चलिरहेको छ। गत शुक्रबार विद्यालय पुग्दा विद्यार्थीहरू उत्साहपूर्वक सिकिरहेका थिए। केही विद्यार्थीहरूले त कहिले शुक्रबार आउला जस्तो लाग्ने बताए।
कक्षा ९ की विद्यार्थी विनिता श्रेष्ठ भन्छिन्, ‘चित्रकलामा सानैदेखि रुचि थियो। युट्युबबाट चित्र बनाउन सिक्थेँ। आफ्नो रुचिको विषयमा विद्यालयमा प्रशिक्षकबाट धेरै कुरा सिक्न पाएकी छु। असाध्यै रमाइलो लागेको छ।’
प्रशिक्षक प्रद्युम्न श्रेष्ठलाई कलामा भित्रैदेखि रुचि भएका विद्यार्थीले यो कार्यक्रममार्फत् पछि कला क्षेत्रमा जान सकिन्छ भन्ने नयाँ बाटो देखेका छन् भन्ने लागेको बताए।
विभिन्न विद्यालयमा शिक्षामा सीप अन्तर्गत सिकेका कुरा विद्यार्थीले आफ्नो दैनिक जीवनमा प्रयोग गरिरहेका छन्। सौन्दर्यकलाका विद्यार्थीले बिहे लगायत विभिन्न अवसरमा आफ्नो र आफन्तको शृंगार गर्ने र विभिन्न शैलीका कपाल बनाउने गरेका छन्। धाराको पाइपसम्बन्धी काम सिकेकाले आफ्नो सीप घरमा प्रयोग गरेका छन्।
गत वर्ष मोबाइल मर्मत तालिम लिएका बाँसबारी माविका विद्यार्थी कृष्ण क्षेत्री अहिले कक्षा ११ मा पढ्छन्। उनले मोबाइल पसलमा ७ महिना काम पनि गरे।
उनी भन्छन्, ‘तालिममा केही सीप सिकेँ। अरु पनि सिक्न बाँकी रहेछ। कमाइ राम्रो हुने रहेछ। काठमाडौँ महानगरपालिकाले ९० घण्टाको तालिमलाई अझ बढाइदिए हुन्थ्यो।’
कामनपाको सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाका अनुसार यो कार्यक्रमको उद्देश्य विद्यार्थीले आफ्नो रुचिको विधामा आधारभूत सीप सिकून् भन्ने हो।
‘उनीहरूले सीप उपयोग गर्न सकून् भन्ने हो। यो क्रार्यक्रमको उद्देश्य रोजगारी सुनिश्चित गर्नु चाहिँ होइन,’ झा भन्छन्।
पाठ्यपुस्तकरहित शुक्रबार कार्यक्रम भनेर माध्यमिक तहका विद्यार्थीका लागि शिक्षामा सीप सञ्चालन हुन्छ भने कक्षा ४–८ का विद्यार्थीका लागि भने सिर्जनात्मक सिकाइ कार्यक्रम हुने गरेको छ। यसअन्तर्गत संगीत, नृत्य, स्काउट, कथावाचन, योग लगायतका विभिन्न २५ वटा थिममा क्रियाकलाप सञ्चालन हुन्छ।

पञ्चकन्या आविकी प्रअ विनिता रंजितको मूल्यांकनमा कक्षाकोठामा प्राय निष्क्रिय हुने विद्यार्थीहरू आफ्ना रुचिका क्रियाकलापमा सहभागी भएर सक्रिय भएका छन्।
प्रअ रंजित भन्छिन्, ‘कक्षाकोठामा चुपचाप बस्ने र पहिले कुनै कार्यक्रममा भाग नलिने विद्यार्थी अहिले जागेका छन्। यो ठूलो कुरा हो।’
पुस्तकरहित शुक्रबार कार्यक्रममा थुप्रै विद्यार्थीहरू रमाइरहे दिनभरि कार्यक्रम चल्दा कोर्स नसकिने कतिपय विद्यालयका प्रअहरूको गुनासो छ। साथै गुणस्तरीय प्रशिक्षक/सेवा प्रदायक पाउन नसकेको पनि उनीहरूको भनाइ छ।
विश्वनिकेतन मावि, त्रिपुरेश्वरका प्रअ हेरम्बराज कँडेल भन्छन्, ‘पाठ्यक्रम विकास केन्द्रले तोकेको क्रेडिट आवर पुग्दैन। अरु दिन कोर्स दौडाउनुपर्ने हुन्छ। नयाँ अभ्यास र क्षेत्र भएकाले सबै भेन्डर सेवा प्रदायक दक्ष छैनन्। उनीहरू धेरै विद्यालय पुग्नुपर्छ। पूरा समय पनि बस्दैनन्। यसमा सुधार हुनुपर्छ। शुक्रबार आधा दिन पढाइ र आधा दिन कार्यक्रम हुनुपर्छ।’
बाँसबारी माविकी निमित्त प्रअ नारायणी तिमिल्सेनाको भने फरक विचार छ।
उनी भन्छिन्, ‘कोर्स सकिन्न भन्ने मलाई लाग्दैन। विद्यार्थीले आफैँ सहभागी भएर केही न केही सिकिरहेका छन्। आफ्नो कुरा राख्न सक्ने भएका छन्। सिर्जनात्मक क्षमता बढेको छ। यसले शैक्षिक गतिविधिमा टेवा पुग्छ। कार्यक्रमका लागि आवश्यक ल्याबहरू भने बनाउइदिनुपर्छ।’
श्रम राष्ट्रिय माविका प्रअ नारायण नेपालको निष्कर्षमा शिक्षामा सीप कार्यक्रम प्रभावकारी देखिएको छ।
‘हप्ताको पाँच दिन पढाएर कोर्समा बाधा पुग्ने यथार्थ हो। त्यसैले कक्षा १० का विद्यार्थीलाई यो वर्ष सहभागी गराइएको छैन। तर यो कार्यक्रमबाट विद्यार्थीले सीप सिक्नुका साथै जीवन र जगतसँग जोडिन पाएका छन्,’ प्रअ नेपाल भन्छन्, ‘शुक्रबार शिक्षकलाई बिदा बस्नु भनेको होइन। त्यो दिन केही फरक तरिकाले किताबबाहिरबाट पाठ्यक्रमकै कुरा सिकाउन सकिन्छ। जस्तो कक्षाकोठाको क्षेत्रफल निकाल्न सिकाउन सकिन्छ।’
कामनपाले कार्यक्रमको व्यवस्थापकीय पाटो र प्रभावकारिताका सम्बन्धमा अध्ययन गर्न बाँकी नै छ। तर सहरी योजना आयोगका सदस्य झा भन्छन्, ‘पुस्तकरहित शुक्रबार कार्यक्रम गणित, विज्ञान, वातावरण, भाषा, सहकार्य, सञ्चार सीप, आलोचनात्मक सोच, सिर्जनात्मक सिकाइ र व्यावहारिक सीपसँग जोडिएको छ। यो कार्यक्रमले पढाइ बिग्रिएको प्रमाण छैन। कार्यक्रमबाट पढाइ बिग्रेको छैन। पोहरभन्दा यसपालि झन् एसईईको नतिजा राम्रो भएको छ।’

टिचर कलेज कार्यक्रम
गौरवका योजनाअन्तर्गत कामनपाले यो कार्यक्रम गतवर्षदेखि सञ्चालन गरिरहेको छ। यसमा शिक्षक, प्रअ तथा सहायक प्रअ, प्रारम्भिक बाल विकास र विशेष शिक्षाको शिक्षकहरूको वृत्ति विकासका लागि तालिम सञ्चालन हुने गरेको छ। काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा केही तालिम सम्पन्न भइसकेका छन्।
विद्यार्थीको सिकाइ सुधारका लागि शिक्षण सिकाइ प्रभावकारी बनाउन दिइएको तालिम सबैतिर पुगेको भने देखिँदैन। कतै प्रअले तालिम धेरथोर पुगेको बताएका छन्। विश्वनिकेतन मावि, त्रिपुरेश्वरका प्रअ हेरम्बराज कँडेल आफ्नो विद्यालयमा तालिम प्रयोग भएको बताउँछन्।
प्रअ श्याम थापा भने कक्षाकोठामा तालिम पुग्यो कि पुगेन भनेर फलोअप हुन नसक्दा कार्यान्वयन नभएको बताउँछन्।
उनी भन्छन्, ‘प्रशिक्षकहरूबाट फलोअप भएन। प्रमाणीकरण पनि भएको छैन। महानगरपालिकाले पनि फलोअप गरेको छैन। स्रोत केन्द्रमा पनि छलफल भएको छैन।’
तालिम प्रमाणीकरणका सम्बन्धमा केयूसँग कुराकानी भएको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताएका छन्। तालिमबाट ज्ञान र सीप कति प्राप्त र प्रयोग गर्न सकिन्छ भन्ने कुरा केही शिक्षकले प्रशिक्षकमा पनि भर पर्ने बताएका छन्। ज्ञानविकास आविकी बाल विकास शिक्षक श्रीदेवी सुनुवारले यो कार्यक्रमअन्र्तगत दुईवटा तालिम लिइन्।
उनी भन्छिन्, ‘पहिलो तालिम बढी सैद्धान्तिक थियो। दोस्रो बढी प्रयोगात्मक थियो। पहिलो तालिम ठीकै लाग्यो। दोस्रो धेरै मन पर्यो। तालिममा सिकेका ज्ञान कक्षाकोठामा प्रयोग गरिरहेकी छु।’
प्रअ मन्जु श्रेष्ठलाई भने प्रशिक्षार्थीको अवस्था र आवश्यकताका आधारमा पनि तालिम दिनुपर्ने भन्ने लागेको छ। ‘गत वर्ष सूचना प्रविधिको तालिम लिँदा अरुसँग हाम्रो स्तर मिलेन। हाम्रो विद्यालयमा ८ जनामध्ये ईसीडीबाहेक अरुलाई कम्प्युटर चलाउन आउँदैन। हामी पुराना छौँ। इमिस भर्नेदेखि सबै काम कम्प्युटरमा गर्नुपर्छ। हामीलाई तालिम चाहिएको छ,’ उनले आवश्यकता औँल्याइन्।
बाँसबारी माविकी प्रअ तिमिल्सेनाको बुझाइमा तालिम प्रयोग हुनु र नहुनु स्वप्रेरणामा पनि भर पर्छ। उनी प्रष्ट पार्छिन्, ‘हामी शिक्षक परिवर्तन भएनौँ भने विद्यार्थीले पत्याउँदैनन्। कसको कक्षामा विद्यार्थी इन्गेज हुन्छन् भन्ने कुरा शिक्षकको शिक्षण शैलीमा भर पर्छ। स्वप्रेरित भएर तालिम कक्षाकोठामा प्रयोग गर्नुपर्छ।’
तालिम लिउञ्जेल केही दिन शिक्षकमा उत्साह हुन्छ। तर बिस्तारै कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग भएको पाइँदैन। यसो हुनुमा प्रअ तथा शिक्षकले भने जस्तै विभिन्न कारण पाइन्छन्।
स्रोतशिक्षक रश्मि वाइवा तामाङ भन्छिन्, ‘कक्षाकोठामा तालिम पूर्णरूपमा पुर्याउनु चुनौती नै छ। कक्षाकोठामा तालिम पुगोस् भनेर हामीले मोटिभेट गरिरहेका छौँ। स्रोतकेन्द्र स्तरीय समितिमा छलफल गर्ने गरेका छौँ।’
विद्यार्थीको नतिजा सुधार कार्यक्रम
कक्षा १० का विद्यार्थीको नतिजा सुधारका लागि महानगरपालिकाले विद्यालयलाई अनुदान दिँदै आएको छ। शिक्षकलाई बिदा वा विद्यालय समयबाहेक खटिएबापत अतिरिक्त पारिश्रमिक दिन यस्तो अनुदान दिइएको हो। घण्टाको तीन सय रूपैयाँका दरले दिइने यो पारिश्रमिकप्रति कतिपय शिक्षकले कम भयो भनेर गुनासो गर्ने गरेका छन्।
तर प्रअ कँडेल भन्छन्, ‘शिक्षकका लागि प्रोत्साहन हो यो। देशभरि सामुदायिक विद्यालयको नतिजा खस्किएको बेला गतवर्ष कानमपामा सामुदायिक विद्यालयको नतिजा राष्ट्रिय औसत ४८ प्रतिशतभन्दा धेरै बढी अर्थात् ७८ प्रतिशत आयो। महानगरपालिकाले अनुदान दियो। अनुगमन गर्यो। यसको सकारात्मक प्रभाव पनि पर्यो।’
एसईई नतिजा सुधारका लागि कानमपाले गत जाडोको बिदामा कक्षा १० का शिक्षकहरूका लागि विषयगत तालिम पनि दिएको छ। दसैँ र तिहार बिदामा कक्षा १० का विद्यार्थीका लागि एसईई सहायता शिविर पनि सञ्चालन गरेको थियो।
ज्ञानविकास आविका प्रअ श्याम थापा नतिजा सुधारको कार्यक्रम तलैबाट हुनुपर्नेमा जोड दिँदै भन्छन्, ‘कक्षा १० मा पुगेर मात्र सुधार गर्छु भनेर हुँदैन। तल्लो कक्षादेखि नै नतिजा सुधार कार्यक्रम जरुरी छ।’

रचनात्मक विद्यालय
स्वर्णिम योजनाअन्तर्गत चालू आवमा शुरु गरिएको यो कार्यक्रममा सार्वजनिक विद्यालयबाट आठ हजारभन्दा ब९ विद्यार्थी विभिन्न खेलका लागि प्रशिक्षणमा छनोट भएका छन्। कक्षा ४ देखि १२ का विद्यार्थी गत मंसीरमा छानिएका हुन्।
महानगरपालिकाले रुचि अनुसार खेल विधा रोज्न आवेदन माग गरेपछि उनीहरूले आवेदन दिएका थिए। फुटबल, भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, क्रिकेट, बास्केटबल, कराँते, बक्सिङ, चेस लगायतका एक दर्जनभन्दा बढी विधामा विद्यार्थीहरू छानिएका छन्।
सहरी विकास आयोगका सदस्य शैलेन्द्र झाका अनुसार यी विद्यार्थीहरूलाई अब केही दिनपछि दोस्रो चरणको प्रशिक्षण दिइनेछ। आउने चैत वैशाखमा अन्तिम चरणको प्रशिक्षण दिइनेछ।
जुनियर र सिनियर गरेर विभिन्न विधाका समूह तयार गरी काठमाडौँ महानगरपालिकाका सार्वजनिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूबीच प्रतियोगिता गराउने कार्यक्रम रहेको छ।
झा भन्छन्, ‘खेलको माध्यमबाट विद्यार्थीको शारीरिक, मानसिक स्वास्थ्य राम्रो हुन्छ। अनुशासन सिक्छन्। आफ्नो रुचिको खेलमा प्रशिक्षण पाउँदा खुसी हुन्छन्। यसको समग्र सकारात्मक प्रभाव शिक्षामा पर्छ।’
अर्को वर्ष महानगरपालिकाले पाठ्यक्रम विकास केन्द्रसँग मिलेर खेलकुदको पाठ्यक्रम बनाउने तयारी गरेको छ।
‘खेलमा रुचि हुनेले पढ्न सक्छन्। उनीहरूलाई खेलसँग सम्बन्धित करिअर बनाउन मदत हुन्छ भन्ने हाम्रो लक्ष्य र उद्देश्य छ,’ झाले बताए।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक शिक्षामा गरेको लगानी, शिक्षकको क्षमता विकास र विद्यार्थीको व्यावहारिक तथा सिर्जनात्मक सिकाइमा गरिरहेको नवीनतम अभ्यास निश्चय नै सराहनीय र अनुकरणीय छ। विद्यालयका प्रअ तथा शिक्षक पनि उत्साहित छन्। तर कार्यक्रम कार्यान्वयनका क्रममा कहिलेकाहीँ समन्वयको अभावमा उनीहरू आफूमाथि दबाव परेको पनि बताउँछन्।
साथै राम्रो काम गर्ने विद्यालय तथा शिक्षकलाई पुरस्कारको व्यवस्था हुनुपर्ने पनि उनीहरूको भनाइ छ। त्यस्तै केही प्रअले विद्यालयका आआफ्नै खाले आवश्यकतालाई सम्बोधन हुनेगरी बजेट उपलब्ध गराउनुपर्ने बताएका छन्।
‘कुनै पनि कार्यक्रम सुरु गर्नुपहिले गहिरो अध्ययन गरी लगानी गर्ने गरेका छौँ। जस्तो टिचर कलेज कार्यक्रम आवश्यक रहेछ भन्ने रिसर्च गरेपछि ल्याएका हौँ। विद्यालयको भौतिक पूर्वाधारका बारेमा अहिले प्राविधिकको टोलीले अध्ययन गरिसकेको छ,’ सहरी योजना आयोगका सदस्य झा भन्छन्, ‘आउने आवमा हामी भौतिक पूर्वाधारका लागि मात्र २ अर्बभन्दा बढी बजेट बिनियोजन गर्ने तयारीमा छौँ।’
Shares

प्रतिक्रिया