एउटा सुक्ष्म भाइरस कोरोनाबाट विश्वका ठूला र शक्तिशाली देशहरु यतिबेला भयभित छन्। छोटो समयमा १४ हजार बढी मानिसको ज्यान लिने यो भाइरसबाट अझै ३ लाखभन्दा बढी मानिस संक्रमित छन्। मानव महामारीको यो परिस्थितिबारे बालबालिकालाई कसरी बताउने? भयावाह अवस्थाको मनोवैज्ञानिक सम्बन्ध हुन्छ। यस विषयमा आफ्ना नानीहरुसँग कसरी कुराकानी गर्ने यो प्रत्येक अभिभावकको चासो हो।
कोरोना भाइरसको त्रासपछि न्युयोर्क सहरका विद्यालय बन्द गरिए। त्यसको केही दिनमै एक सहपाठीले बाटोमा हिँड्दै गर्दा सुनेको कुराकानी मलाई फोनबाट सुनाइन्। करिब ८ वर्षे बालकले आफ्नी आमालाई विद्यालय विदा हुँदा खेल्ने योजना बताएछन्। आमाले जवाफमा भनिछन्,‘हुन्छ तर अहिले यसलाई योजनामै राखौं। तिमीलाई थाहा छ विश्व ध्वस्त हुने हल्ला पनि चलेको छ।’
आमाले छोरालाई दिएको त्यो जवाफ हेर्दा र सुन्दा सामान्य जस्तो लाग्छ तर त्यसले ती बालकमा भ्रम र डर सिर्जना गर्छ। बाल मनोविज्ञान भएकाले हामी ती आमाको उत्तर दिने शैली गलत रहेको भन्छौं।
उनको शब्द चयनमा सम्भवत उनको डरले भूमिका खेलेको छ। पूरै अमेरिकालाई कोरोना भाइरस महामारीको प्रतिक्रिया जनाउन गाह्रो भइरहेको छ। जब हामी डरको सामना गर्दछौं हाम्रो निर्णय, विचार र आत्म नियन्त्रणलाई भावनाले जित्छ। त्यसकारण आमा र छोराको कुराकानीमा ‘खेल्ने’ विषय ‘विश्व ध्वस्त’ हुने विषयमा परिणत भएको हो।
हाम्रा सामान्य कार्यले बालबालिकामा नकरात्मक असर पारिरहेको हुनसक्छ। त्यसैले यो विपदमा हामीले फरक ढंगबाट उनीहरुसँग व्यवहार गर्नुपर्छ। अभिभावकहरुले आफ्नो दैनिकीमा ठूलो असर पार्ने विपदको आफ्नो चिन्ता केटाकेटीसँग बाँड्नु हुँदैन।
५ वर्ष मुनिकासँग कसरी कुरा गर्ने?
यो बालबालिकाहरुको अलौकिक विषयबारे सोच्ने उमेर हो। उनीहरुलाई अमुक ईश्वरीय पात्र एवं राक्षसहरु वास्तविक लाग्छन्। कोरोना भाइरस निकै जटील तर डरलाग्दो विषय हो। यसलाई बालबालिकाले ठ्याक्क बुझ्न सक्दैनन्। उनीहरु आफू वरपर भएका मानिससँग ढुक्क हुन्छन्। यदि तपाइँ ठिक हुनुहुन्छ भने उनीहरु पनि आफू ठिक छौं भन्ने सम्झन्छन्। त्यसैले
उनीहरुले केही प्रश्न गरे भने तपाइँले ढुक्क भएर राम्रोसँग जवाफ दिनुहोला। उनीहरुले तपाइँको शब्दभन्दा बढी मुहार, संकेत र भन्ने तरिकाबाट बुझ्छन्।
जस्तैः यदि बच्चाले ‘धेरै मानिसहरु किन दोकानबाट सामान किनिरहेका छन् ?’ भनेर प्रश्न गरे अभिभावकले ‘मानिसहरु आफ्नो घरमा सामानहरु सकिएको भनेर चिन्तित छन् तर हामीसँग त घरमा प्रशसस्त सामान छ’, भनेर जवाफ दिनु उपयुक्त हुन्छ। उनीहरुसँग ‘त्रसित’ र ‘आतंकित’जस्ता शब्दलाई प्रयोग नगर्दै राम्रो हो। ‘चिन्तित’ भन्ने शब्द प्रयोग गर्न सकिन्छ।
हामीले केटाकेटीको प्रश्नलाई राम्रोसँग जवाफ दिएर र राम्रो भाषामा सार्वजनिक स्वास्थ्य निर्देशनको पालना गर्न लगाए उनीहरुलाई कुरा बुझाउन सकिन्छ। जस्तैः ‘तिमीले हात अहिले नै धुन ज्यादै महत्वपूर्ण हुन्छ। हामी आफू स्वस्थ रहन हात धोइरहेका छौं’ भनेर केटाकेटीलाई भन्नसक्छौं।
५ देखि १० वर्षका बालबालिका
केही हप्ता यता मैलेसहपाठी र साथीहरुबाट दर्जनौं मेलहरु पाएकी छु। ती सबै साना विद्यार्थी बारेका छन्। ५ देखि १० वर्षसम्मका बालबालिकाहरुमा ५ वर्ष मुनिका केटाकेटीमा भन्दा बढी सोच्ने क्षमता हुन्छ। व्यंग्य र अमूर्त कुराहरु बुझ्न नसके पनि उनीहरुको तर्क क्षमता विकास हुँदै गरेको हुन्छ।
५ देखि १० वर्षका केटाकेटीले कोरोना भाइरसको विषयमा बढाई चढाई गरिएका कुरा सुनेका हुनसक्छन्। उनीहरुले बुबाआमालाई ‘मलाई डर लागेको छ हामी सबै मर्दैछौं’ भनेर सुनाउन सक्छन्। यतिबेला आमाबुबाले आफ्नो बच्चालाई उपयुक्त जवाफ दिन महत्वपूर्ण छ। जसले गर्दा उनीहरु भयमुक्त र ढुक्क हुन सकून्। हामीले बच्चालाई ‘हामी कोही पनि मर्दैनौं। कसले के भन्यो र तिमी यस्तो सोच्न बाध्य भयौं’ भनेर प्रश्न गर्नसक्छौं। हामीले ‘विश्व ध्वस्त हुँदैछ’ जस्ता वाक्यको प्रयोग गरी बच्चामा डर र त्रास उत्पन्न गराउनु हुँदैन। उनीहरुलाई रमाइलो लाग्ने विषयसँग केही कुरा सम्बन्धित गरेर बुझाउनु पर्दछ।
५ वर्षभन्दा मुनिका भन्दा यो उमेरका बालबालिका आफैँ सोच्न सक्छन्। हामीले भनेका कुराबारे सोच्दा उनीहरुलाई चिन्ता बढ्न सक्छ। उनीहरु आफ्ना उमेरका साथीलाई यस्तै विषय सुनाउँछन् र समस्या उत्पन्न हुनसक्छ। हामीले केटाकेटीलाई शिक्षा दिनुपर्छ तर उनीहरुले के सुने, बुझे र कसरी व्याख्या गर्छन् भन्ने पनि ख्याल गर्नुपर्छ। केही कुरा बुझाएर आफ्ना केटाकेटीलाई प्रश्न गर्न चाहिँ नछाडौं?
११ देखि १५ वर्षका बालबालिका
यो उमेरमा धेरै बालबालिकाको राम्रोसँग सोचविचार गर्ने क्षमता वृद्धि भइसक्छ। उनीहरुसँग तार्किक क्षमता र अमूर्त सोच विकास भएको हुन्छ। उनीहरुले व्यंग्य पनि बुझ्ने भएका हुन्छन्। राष्ट्रिय विपदको समयमा किशोरावस्था एक तनावपूर्ण समय हो। यस उमेरका केटाकेटीहरु कति जनामा कोरोना भाइरस संक्रमण फैलियो र चर्पीका कति ट्वाइलेट पेपर छ भन्ने विषयमा भन्दा अन्य विषयमै तनाव लिइरहेका हुन्छन्।
‘भाइरसको विषय हाँस्यास्पद छ। म साथीहरुसँग आज राति रमाइलो गर्न जाँदैछु। कोही बिरामी छैनन्’ भन्ने कुरा आफ्ना छोराछोरीबाट सुन्नु भयो भने आश्चर्य मान्नु पर्दैन। यस्तो समयमा तपाइँले ‘मलाई थाहा छ तिमीलाई साथीहरुसँग रमाइलो गर्न मन छ। तर हामी यो समुदायका हिस्सा हौं र हामीले हाम्रो मात्र नभएर समुदायमा रहेका अरुको पनि रक्षा गर्नुपर्छ’ भनेर जवाफ दिनसक्छौं।
किशोरावस्थामा प्रायः केटाकेटीहरु आफू केन्द्रित हुन्छन् तर उनीहरु सामाजिक रुपमा सचेत पनि हुन्छन्। काका काकी, अजुरबा–हजुरआमालाई उसको खाँचो छ भनेर हामीले सम्झाउन छाड्नुहुन्न। साथीहरुसँग सम्पर्क हुन नसक्दा हामीले उनीहरुलाई सान्त्वना दिनुपर्छ। यो उमेरमा साथी नहुँदा केटाकेटीलाई निकै गाह्रो हुन्छ।
अन्त्यमा, अभिभावक भएको हिसाबले हामीले आफैंलाई ढुक्क बनाउन सक्नुपर्छ। हामीले सञ्चारमाध्यमका नकरात्मक र भ्रामक समाचारलाई परै छाड्नुपर्छ। विपदका बेला हामी ध्यान गर्न सक्छौं, फुल गोड्ने, शारीरिक व्यायाम गर्न सक्छौं। छोराछोरीलाई भावनात्मक समस्याबाट कसरी जोगिने अप्ठेरो अवस्थालाई कसरी सामना गर्ने भनेर सिकाउन सक्छौं।
हाल विश्वमा देखिएको कोरोना भाइरसको प्रकोप विश्वले भोगिरहेको अन्तिम समस्या होइन। यो समस्या हाम्रा बालबालिकाले अनुभव गर्ने अन्तिम दुःख पनि होइन। यो विश्वको विध्वंश होइन। अहिलेको संकट विस्तारै समाप्त हुनेछ। हामीले अप्ठेरो र संकटको सामना कसरी गर्ने भन्ने बारे आफ्ना छोराछोरीलाई सिकाउनुपर्छ। यो भविष्यमा उनीहरुका लागि गतिलो पाठ हुनेछ।
(क्लिनिकल मनोवैज्ञानिक तथा लेखक म्याडलिन लिभिनको यो लेख न्युयोर्क टाइम्सबाट अनुवाद गरिएको हो।)
Shares
प्रतिक्रिया