समाज


मकुना मृत्यु प्रकरण : सरकारद्वारा छानबिन समिति गठन

मकुना मृत्यु प्रकरण : सरकारद्वारा छानबिन समिति गठन

नेपालखबर
माघ २४, २०८१ बिहिबार २१:३६, काठमाडौँ

सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती (मकुना)को मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

उक्त छानबिन समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेनाका एकरएकजना प्रतिनिधि तथा चितवनका एकजना पशु चिकित्सक सदस्य रहेको महानिर्देशक कँडेलले बताए।

‘आज वनमन्त्रीकै उपस्थितिमा भएको बैठकले उक्त समिति गठन गरेको हो, वन्यजन्तु संरक्षणका लागि कस्ता उपाय अपनाउन सकिन्छ रु भन्ने विषयमा समेत राय सुझाव समेटेर प्रतिवेदन दिने छ’, महानिर्देशक कँडेलले भने।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको जानकारी दिएको छ।

निकुञ्जले आज सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले दुई राउन्ड ‘वार्निङ’ (चेतावनी) स्वरुप हवाई फायर गरिएको र भाग्नुको सट्टा थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसादतर्फ आउँदा त्यहाँ सवार रेन्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि गोली चलाउनु परेको उल्लेख गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad