समाज


कोरोना भाइरसबाट लन्डनमा पहिलो नेपालीको मृत्यु

कोरोना भाइरसबाट लन्डनमा पहिलो नेपालीको मृत्यु

नेपालखबर
चैत ८, २०७६ शनिबार १६:१,

कोरोना भाइरस संक्रमणबाट बेलायतमा पूर्व गोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको छ।

६६ वर्षीय राईको मंगलबार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

राईको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको पुष्टी अस्पताललाई उद्धृत गर्दै परिवारका सदस्यले गरेको गोरखा भूतपूर्व सैनिक संघका अध्यक्ष कृष्णकुमार राईले जनाएका छन्।

कोरोना भाइरसबाट मृत्यु हुने राई संभवतः पहिलो नेपाली हुन्।

संखुवासभा खाँदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका राई केही दिनअघि अस्पतालमा उपचार गराएर घर फर्केका थिए। तर मंगलबार दिउँसो स्वास्थ्य खराब भएपछि उनलाई फेरि अस्पताल लगिएको थियो।

सोही दिन साँझ राईलाई मृत घोषणा गरेका चिकित्सकले तीन दिनपछि शुक्रबार मात्र मृत्युको कारण कोरोना भाइरसको संक्रमण रहेको परिवारलाई जानकारी दिएका हुन्।

लन्डनबाट सञ्चालन हुने वीनेपाली अनलाइनका अनुसार सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राई सन् २००८ मा उतै बसोबास गर्ने गरी बेलायत गएका थिए। जहाँ उनी श्रीमती र छोराबुहारीसँग बसोबास गर्थे।

परिवारका सदस्यले करिब दुई दशकअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको जनाएका छन्।

लन्डनमा अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएकाले समवेदना व्यक्त गर्न अर्को सूचना जारी गरिने संखुवासभा समाज युकेले जनाएको छ।

यूरोपका इटाली, फ्रान्स, स्पेनसँगै बेलायतमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिइरहेको छ। शनिबारसम्म बेलायतमा ३९८३ जना संक्रमित भएका छन् भने १७७ जनाको मृत्यु भैसकेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .