नेपाल प्रहरीमा शुक्रबार बेलुका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। २०६१ सालमा दुई पटकमा र २०६२ सालमा भर्ना भएको टोलीबाट एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
उनीहरू डीएसपीमा बढुवा हुँदा पनि दुई पटकमै भएका थिए। २०६१ सालमा भर्ना भएका १७ जना र २०६२ सालमा भर्ना भएका २० जना एसपी बढुवाको सिफारिसमा परेका छन्। तर २०६२ सालमा भर्ना भएका टोलीका १० जना २०७२ सालमै डीएसपीमा बढुवा भएका थिए। उनीहरूको टोलीका १० जना एसपीमा सिफारिस भएका छन्।
२०७२ सालमा डीएसपीमा बढुवा भएका ७ जनालाई छुटाएर २०७४ मा डीएसपी भएका १० जनालाई बढुवा गरिएको छ।
२०६१ सालमा भर्ना भएर २०७२ सालमै डीएसपी भइसकेका रविन कार्की, अनिलकुमार खड्का, महेन्द्र नेपाल, वीरेन्द्र थापा र ज्ञानेन्द्रबहादुर बस्नेत बढुवामा छुटेका छन्। यस्तै उनीहरूभन्दा १८ दिनपछि भर्ना भएका र सँगै डीएसपी भएका दीपेन्द्र पञ्जियार थारु र महेश थापालाई पनि बढुवामा छुटाइएको छ।
तर उनीहरूभन्दा १६ महिना जुनियर १० जना डीएसपीहरू एसपीमा बढुवाका लागि सिफारिस भएका छन्। २०६२ सालमा भर्ना भएर २०७४ सालमा डीएसपी भएका मुकुन्द रिजाल, नवीन कार्की, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगम कुँवर एसपीमा बढुवा सिफारिस भएका छन्। यसअघि डीएसपी बढुवामा आफूहरूलाई अन्याय भएको उनीहरूको गुनासो थियो।
२०६१ जेठमा भर्ना भएका मध्येबाट सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, दीपक गिरी, नविनकृष्ण भण्डारी, तिलक भारती, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही र किशोरकुमार श्रेष्ठ एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
यस्तै उनीहरूकै वैकल्पिक टोली २०६१ असारमा भर्ना भएका कुलदीप चन्द पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन्। यही टोलीका मनोहरप्रसाद भट्ट, केशवकुमार थेबे, टेकबहादुर कार्की, फडिन्द्र प्रसाईँ, शरदकुमार थापा, युवराज खड्का र राजन चापागाईँ पनि एसपीमा बढुवा सिफारिस भएका छन्।
२०६२ भदौमा भर्ना भएर २०७२ चैतमा एसपी भएको टोलीका १० जना नै एसपीमा सिफारिस भएका छन्। यो टोलीबाट पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्व्र पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने र श्यामकुमार सारू मगर यसपटक पनि बाजि मार्न सफल भएका हुन्।
Shares

प्रतिक्रिया