ad ad

समाज


मस्जिदमा नमाज पढ्न पुगेकाहरु फर्काइए, घरमै पढ्न आयोगको आग्रह

मस्जिदमा नमाज पढ्न पुगेकाहरु फर्काइए, घरमै पढ्न आयोगको आग्रह

सागर न्यौपाने/प्रविन कोइराला
चैत ७, २०७६ शुक्रबार १४:३५,

आफ्ताव आलम वीरगञ्जमा हुँदा नियमित नमाज पढ्थे। दुई वर्षअघि काठमाडौँ आएपछि जामे मस्जिदमा गएर उनले नमाजलाई निरन्तरता दिने गरेका थिए।

शुक्रबार साढे १२ बजे पनि जुम्माको नमाज पढ्न आलम जामे मस्जिद पुगे।

तर, गेटमा रहेका प्रहरीले उनलाई भित्र जान दिएन।

उनी केहीबेर टहलिए। जुम्माको समय घर्किने बेला भएपछि फेरि प्रहरीलाई जान दिन आग्रह गरे।

प्रहरीले उनको आग्रह सुनेन। भीड नगर्न भन्दै उनीसहित अरुलाई पनि त्यहाँबाट लखेट्न थाल्यो।

केही भित्र प्रवेश गरिसकेका थिए। उनीहरु बाहिर निस्केनन्, बाहिर भएका भित्र जान पाएनन्। प्रहरी, स्वयंसेवक र नमाज पढ्न आएकाहरुबीच केहीबेर तर्कवितर्क चल्यो।

एक बज्न १० मिनेट बाँकी थियो र भीड झन् बढ्न थालेको थियो।

१ बजेपछि त्यहाँ सयौँले नमाज पढ्न सुरु गर्छन्।

Kashmiri_Masjid_3.jpg

नमाज पढ्न प्रत्येक हप्ताको शुक्रबार जामे मस्जिदमा यस्तै भीड लाग्नेगर्छ। यसअघि जति भीड भएपनि कुनै रोकटोक हुँदैनथ्यो।

तर, यो साता भने ढिला मस्जिद पुगेकाहरु भित्र पस्नै पाएनन्। कारण थियो, विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९)। संक्रमण फैलिने जोखिमका कारण सरकारले २५ जनाभन्दा बढीलाई एकै समूहमा जम्मा नहुन निर्देशन दिएपछि शुक्रबार नमाज पढ्न जामे पुग्नेहरु गेटबाटै फर्काइएका थिए।

आलम मात्रै होइन, झण्डै एक हजार जना बाहिरै रोकिए।

उनीहरुलाई गेटबाहिर समेत भीड हुन प्रहरीले दिएन। रत्नपार्कको आकाशे पुलमा आलमजस्तै थुप्रै मुस्लिम नमाज पढ्न नपाएकोमा दुःखी देखिन्थे।

‘१२ बजे आउनेहरु जामेभित्र प्रवेश गरे, सबैले मास्क लगाएका थिए तर, म आउन अलि ढिला भयो,’ आलमले नेपालखबरसँग भने, ‘मास्क लगाएपनि प्रवेश दिएनन्, यो हप्ताको नमाज पढ्न छुट्यो अर्काे हप्तादेखि त यहाँ प्रवेश नै नदिने भनेको छ।’

हरेक शुक्रबार जामे मस्जिदमा नमाज नपढे अल्लाह खुसी नहोलान् भन्ने चिन्ता उनलाई लाग्छ।

jam-a-masjid7.jpg

बालाजुमा सिलाइको काम गर्ने र डिल्लीबजार बसेर इन्जिनियरिङ पढिरहेका वीरगन्जकै दुई व्यक्ति पनि निरास देखिन्थे।

उनीहरुको एउटै चिन्ता थियो, अब आगामी दिन कसरी नमाज पढ्ने?

मुस्लिम आयोगले भने कोभिड–१९ को संक्रमणबाट जोगिन घरमै नमाज पढ्न आग्रह गरेको छ।

शुक्रबार जावलाखेलस्थित आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समिम मियाँ अन्सारीले नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाज घरमै पढ्न सबैलाई सुझाव दिएका हुन्।

jam-a-masjid2.jpg

‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिनु सबैको कर्तव्य हो,’ अध्यक्ष अन्सारीले भने, ‘मुस्लिम समुदायले नियमित रुपमा पढिने नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाज सकेसम्म घर, कलकारखाना आदिमा पढ्ने र मस्जिदमा सकेसम्म कम उपस्थितिमा पढ्ने पढाउनु होला।’

उनले अति आवश्यक नभई कुनै पनि कार्यक्रममा सहभागी नहुन पनि अनुरोध गरे। त्यसैगरी मदरसाहरूमा पठनपाठन बन्द गर्न पनि आयोगले आग्रह गरेको छ।

Kashmiri_Masjid_5.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .