समाज


सुप्रिम सहकारीमा कसुर र बिगो बढाएर थप अभियोग दर्ता, रविसहितको पूरक अभियोग भोलि मात्रै

सुप्रिम सहकारीमा कसुर र बिगो बढाएर थप अभियोग दर्ता, रविसहितको पूरक अभियोग भोलि मात्रै

नेपालखबर
माघ ३, २०८१ बिहिबार १६:४८, काठमाडौँ

बुटवलको सुप्रिम सहकारी ठगीमा १७ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ। जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दर्ता भएपनि यी मध्ये १७ जनाविरुद्ध कसुर र बिगो बढाएर थप अभियोग दर्ता गरिएको छ।

यसअघि नै प्रतिवादी बनाइएका जिबी राई, ओम प्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ।

यस्तै उनीहरूविरुद्ध २ करोड ७ लाख रुपैयाँ बिगो थप भएको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख प्रेमराज पौडेलले बताए। यसअघि एक अर्ब ३ करोड बिगोसहित उनीहरुविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै अभियोग पत्र दर्ता भएको थियो।

तर अहिले अन्य कारोबार देखिएपछि बिगो थप भएको सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले बताए।

सञ्चालक समिति सदस्य समेत रहेका रोकाविरुद्ध भने सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अभियोग थप गरिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा ५ करोड बढी बिगो कायम गरिएको पौडेलले नेपालखबरलाई बताए।

पूरक अभियोग भोलि मात्रै
सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग भने शुक्रबार मात्रै अदालतमा लैजाने भएको छ। बिहीबार थप अभियोग लगिएकाले अरुको हकमा शुक्रबार मात्रै पूरक अभियोग लैजाने पौडेलले बताए।

‘आज पहिल्यै मुद्दा गइसकेकाको हकमा कसुर र बिगो थप गरेर थप अभियोग अदालत लगेका छौँ। त्यसलाई रुजु गर्ने काम भइरहेको छ। बाँकीको हकमा पूरक अभियोग शुक्रबार मात्रै दर्ता हुन्छ’, पौडेलले भने।

रवि लामिछाने र छविलाल जोशीलाई त्यहाँ सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ। उनीहरु दुवै जनालाई ४ करोडमाथि बिगो कायम गर्ने तयारी छ। यसअघि प्रहरीले अनुसन्धान सकेर एक साता अघि नै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सरकारी वकिल कार्यालयले एकसाता अध्ययन गरेर अभियोग पत्र तयार गरेको हो।

यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो। लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए।

त्यसलगतै लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर थुनछेक बहस सकिइसकेको छ। तर जोशी भने अझै अदालतमा उपस्थित भएका छैनन्। उनीहरूलाई कास्की प्रहरीले रिहा गर्दा आफै काठमाडौँ प्रहरी वा अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको थियो।

लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ। उनी अदालतले माग गरेको धरौटी बुझाएर बिहीबार नै थुनामुक्त भइसकेका छन्। बुटवलमा अभियोग पत्र दायर भएपछि अदालतमा आफैं उपस्थित हुने उनको तयारी छ।

त्यसपछि चितवनको साहारा चितवन र पर्साका सानोपाइला सहकारीमा पनि उनीहरु दुवै जनाविरुद्ध मुद्दा चलाउने तयारी छ। दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad