काठमाडौँ महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ।
काठमाडौं उपत्यकासहित देशभर आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ।
विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो।
‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित बुधबार काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा भूकम्प स्मृति सभा गरिएको हो। १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको महानगरपालिकाले जनाएको छ।
स्मृति सभालाई सम्बोधन गर्दै महानगरपालिका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विपदको पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ। नागरिकको आँगनको सरकारले यो काम गर्छन्। संघ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्छ। यस कोणबाट सबै तहका सरकारको समान भूमिका छ।’
महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुनर्लाभका लागि वडा विपद व्यवस्थापन समितिलाई सक्रिय बनाएको जानकारी पनि उनले दिइन्। साथै, स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना गरेको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले १९९० सालको भूकम्पपछिको पुनःस्थापनाको विषयमा धारणा राख्दै भने, ‘त्यस बेला कुटनीतिक क्षेत्रबाट व्यवस्थापनका लागि सहयोग के चाहिन्छ भनेर सोद्धा सरकारबाट जवाफमा हामी लिन जन्मेका होइनौँ। दिन जन्मेका हौँ। हामीलाई हाम्रा नागरिकमाथि भरोसा छ। नागरिककै क्षमताले पुनःस्थापना हुन्छ, भनिएको थियो। सुन्दा सामान्य लागे पनि यो भनाइ मननीय छ।’
भवन संहिताको कडाइका साथ पालनासँगै निर्माण सामग्री उपयोगका विषयमा पुनर्विचार गर्नुपर्ने भुसालको भनाइ थियो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरू, महानगरपालिकाका नगर सभा सदस्यहरू, विभागीय प्रमुखहरू, विपद व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन ऐन जारी गरिसकेको छ। यसले पूर्वतयारी, प्रतिकार्य र पुनःलाभका लागि काम गर्ने दिशानिर्देश गरेको छ।
विश्व मानचित्रमा भूकम्पजन्य विपदका दृष्टिले नेपाल ११ औँ स्थानमा छ ।
१९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, २०७२ सालमा पश्चिम तथा मध्य, २०८० सालमा मध्यपश्चिमका रुकुम पश्चिम र जाजरकोट केन्द्रविन्दु भएका भूकम्पले ठूलो जनधनको क्षति गरेका छन्।
स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने नगर प्रहरीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेमा नगर प्रहरी सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठ, नगर प्रहरी हवल्दार सुरेश कार्की, सहायक अग्नि नियन्त्रक शिवबहादुर कार्की छन्।










Shares

प्रतिक्रिया