समाज


पहिलोपटक ‘स्काइवाक टावर’मा योगाभ्यास

पहिलोपटक ‘स्काइवाक टावर’मा योगाभ्यास

नेपालखबर
माघ १, २०८१ मंगलबार १७:३९, काठमाडौँ

कमलादिस्थित ‘स्काइवाक टावर’मा आज विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ।

स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए।

प्रबन्ध निर्देशक पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

त्यसअवसरमा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिकाका करिब एक सय ५० जनाको सहभागिता रहेको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले जानकारी दिए।

‘दसौँ राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौँ। अब प्रत्येक साता स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ’, उनले भने। योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको ज्ञवालीको भनाइ थियो।

यस्ता कार्यक्रमहरूले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे। योग साधनालाई आफूलाई आफैले बुझ्ने परम साधनका रुपमा बुझ्नुपर्ने उनले बताए।

आजको योगाभ्यासका क्रममा एकसय पटक आठ सूर्य नमस्कार गरिएको थियो। बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको योगाभ्यासमा महिला तथा पुरुषहरूको उल्लेख्य सहभागिता थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad