समाज


आज रातिदेखि फेरि हिमपात र वर्षा (भिडिओ)

सोमबार रातिबाट मात्र मौसम सुधार हुने सम्भावना
आज रातिदेखि फेरि हिमपात र वर्षा (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८१ शनिबार १४:५०, काठमाडौँ

आज (शनिबार) रातिदेखि हिउँ र पानी पार्ने मौसम प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) सक्रिय हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

शनिबार भिडिओ सन्देश जारी गर्दै मौसमविद् निर्मला रेग्मीले पुस २७ र २८ गते दुई दिन हिमपात र वर्षा हुने सम्भावना देखिएको जानकारी दिएकी हुन्। 

उनका अनुसार आज रातिदेखि पश्चिमतिरबाट बादल लाग्न सुरु हुने देखिन्छ।

उनले अगाडि भनेकी छन्, ‘२७ गते (आज) राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। पानीको कुरा गर्नुपर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी र तराई भूभागका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ भने बाँकी प्रदेशमा कतै कतै बादल लागे पनि मौसम मुख्यतया सफा रहनेछ।’

मौसमविद् रेग्मीका अनुसार पुस २८ गते (आइतबार) भने बादल पश्चिमबाट पूर्वतरि फैलिँदै जाने देखिन्छ। उक्त दिन सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोसी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।

उनले भनेकी छन्, ‘पानीको हकमा सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। बाँकी भूभागमा भने आंशिकदेखि साधारणतया बादल लागी एक/दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।’

उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार रातिदेखि सोमबारसम्म हिमपात र वर्षा हुने सम्भावना देखिएको हो।

उनले भनेकी छन्, ‘सोमबार दिउँसोसम्म पनि देशको पूर्वी र मध्य पहाडी भूभागमा बादल लागेर छिटपुट हिउँ र पानी पर्ने सम्भावना देखिन्छ। सोमबार रातिबाट क्रमिक रूपमा मौसम सुधार हुने सम्भावना छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad