समाज


९ महिनाअघि कम्पनी नै दर्ता गरेर सातदोबाटोमा सट्टेबाजी, ७ जनाविरुद्ध अघि बढ्यो मुद्दा

९ महिनाअघि कम्पनी नै दर्ता गरेर सातदोबाटोमा सट्टेबाजी, ७ जनाविरुद्ध अघि बढ्यो मुद्दा

नेपालखबर
पुस २४, २०८१ बुधबार १३:०, काठमाडौँ

ललितपुरको सातदोबाटोस्थित एक अवैध कलसेन्टरबाट पक्राउ परेका ७ जनामाथि सट्टाबाजी कसुरमा अनुसन्धान सुरु भएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनाको मुख्य संलग्नता देखिएकाले उनीहरूलाई हिरासतमा राख्न अदालतको अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ। 

यही प्रकरणमा अन्य ४६ जनाको हकमा पनि अनुसन्धान भइरहेको र अहिले नै कुन कसुरमा अनुसन्धान गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको सीआईबीले जनाएको छ। 

तर २ भारतीय र ५ नेपालीमाथि भने मुद्दा अगाडि बढाइएको हो। बिहार घर भएका भारतीय नागरिक मनिसकुमार झा टिम लिडर र गुजरातका राहुल मेगोडा ट्रेनिङ म्यानेजर रहेको खुलेको छ। 

यस्तै ५ नेपालीमा ओखलढुंगाका मोनी दाहाल एचआर म्यानेजर, सिन्धुपाल्चोककी सुस्मिता नेपाली इन्चार्ज, झापाको दमकका रोशन बस्नेत म्यानेजर, काठमाडौँका आदित्य कुमार सिंह आईटी सपोर्टर र काभ्रेका सलिन श्रेष्ठ ओभरल टिम लिडर रहेको सीआईबीले जनाएको छ। 

उक्त अवैध कल सेन्टरबाट सीआईबीले ल्यापटप ८५ थान र मोवाइल ९६ थान बरामद गरेर अनुसन्धान अघि बढाएकाे छ। 

उनीहरूले सातदोबाटोका सुरेन्द्र गोपाल श्रेष्ठको पाँचतले घरको चौथो तला भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए। त्यहाँ नेपालीलाई राम्रो कमाई हुने प्रलोभनमा पारेर अवैध काममा लगाएको पाइएको छ। सोमबार राति सीआईबीले त्यहाँ छापा मारेर उनीहरूलाई पक्राउ गरेको हाे। 

उनीहरूले कल सेन्टरबाट सिंगम लट्री, अन्ना लट्री, भाउ लट्री र इन्डुस्बेट लट्री लगायतका ग्यामब्लिङ एप्सको दुरुपयोग गरी डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाइ सट्टेबाजी गर्ने गरेको सीआईबीको दाबी छ। 

नेपालमा उनीहरूले ९ महिना पहिले प्रोलिंक टिच सोलुसन प्रालि नामक कम्पनी दर्ता गरेर कल सेन्टर खोलि अवैध अनलाइन सट्टेबाजी संचालन गरिरहेको पाइएको छ। 

प्रारम्भिक अनुसन्धानपछि ७ जनालाई मुलुकी अपराध संहिता, २०७४ (संशोधनसहित) परिच्छेद ५ दफा १२५ (४) सट्टेबाजी गर्न नहुने सम्बन्धि कसुरमा अन्तरगत म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ। 

अन्यको हकमा अनुसन्धान जारी रहेकाले अहिले अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको छ। उनीहरूको संलग्नता बारे प्रस्ट भएपछि सट्टाबाजीको कसुरमा अनुसन्धान अगाडि बढाउने नबढाउने भन्ने सीआईबीले निर्णय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad