जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरू हुनु कमजोरी नभएको बताएका छन्।
बुधबार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले धेरै वेशभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे।
उनले सबैलाई सम्मान गर्न सके मात्रै देशको भलो हुने धारणा पनि राखे। सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नोआफ्नो पोशाक लगाएर यो दिवस मनाउनुपर्ने उनको मत थियो। उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको टिप्पणी पनि गरे।
उनले भने, ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौँ, जातजातिहरू, भाषाभाषीहरू भएका मानिसहरू छन्। हाम्रो लागि त्यो कमजोरी होइन। यो हाम्रो लागि सम्पत्ति हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ। नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्टा गरियो। लामै संघर्ष भयो। त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ। त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ। आज कुनै एकल जाजातिको मात्रै दिवस होइन। सबैले आफ्नो मौलिक वेशभूषाको दिवस हो।’
मधेसी समुदायले माइतीघर मण्डलामा धोती लगाएर प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागीले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्ड पनि बोकेका थिए।
Shares

प्रतिक्रिया