नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ।
रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो।
यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने संक्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई घटाउने विश्वास लिइएको छ। केन्द्रीय रक्तसञ्चार सेवामा र्यापिड वा इलाइजा प्रविधिबाट रगत परीक्षण हुने गरेकामा गत हप्ताको बुधवारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको शुरुवात गरेको रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवले बताए।
उनले भने, ‘यो मेसिनलाई हामीले क्लिया भन्छौं। यसभन्दा पहिले हामीले इलाइजा प्रविधिमा रगत जाँच गर्ने गर्दथ्र्यौं। त्योभन्दा पहिलेको कुरा गर्ने हो भने हामी आरडिटी मेथडबाट रगत चाँज गर्नको लागि र्यापिड विधिबाट छिटोछरितो तरिकाबाट गर्ने गर्दथ्यौं। तर दुईवटै प्रविधिहरुमा निकै फरक रहेछ। कसैले पनि रक्तदान गरिसकेपछि ब्लड बैंकको दायित्व भनेको सेफ ब्लडको अभ्यास गर्नु रहेछ। यो विश्व स्वास्थ्य संगठनले भनेको हो। नेपालको लागि चारवटा जाँचहरु अनिवार्य गरेको रहेछ।’
उनले यस प्रविधिले रक्तदान गर्ने मानिसको जीवाणु परीक्षण प्रभावकारी ढंगले हुने र शुद्ध रगतको प्रयोगको अभ्यासलाई बढावा दिने बताए। उनले रगतको माध्यमबाट सर्ने एचआइभी एड्स, हेपटाइटीस लगायतका रोगहरु फैलनबाट पूर्णरुपमा रोक्न क्लियाले सहयोग गर्ने बताए।
उनले यसअघि र्यापिड वा इलाइजा प्रविधिबाट रक्तदाताको तीनदेखि ६ महिनाको रगतको इन्फेक्सन थाहा पाइँदै आएकोमा १५ दिन अघिको रगतको संक्रमण थाहा पाउन सकिने बताए। उनले क्लिया प्रविधिले इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्नको लागि ठूलो सहयोग पुर्याउने बताए।
पछिल्लो समय रगतको माग बढ्दै गएपनि ब्लड बैंकहरूले गुणस्तरीय जाँच (स्क्रिनिङ) नगर्दा संक्रमणको रागेहरुको जोखिम बढेको भन्दै सार्वजनिक रुपमा प्रश्न उठ्दै आएका थिए। रगत परीक्षणका लागि नेपालको क्लिया प्रविधि कोसेढुंगा सावित हुने उनको विश्वास छ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले आफूहरुको मुख्य उद्देश्य रगतको सुरक्षालाई बढावा दिनु रहेको उल्लेख गर्दै क्लिया प्रविधिले सहयोग गर्ने बताए। क्लिया प्रविधि भित्रिएसँगै रगतको सुरक्षा गुणात्मक रुपमा बढेको उनले बताए। उनले उक्त प्रविधिको माध्यमबाट रगतको माध्यमबाट सर्ने रोगहरुलाई बढीभन्दा बढी नियन्त्रण गर्न सकिने बताए।
उनले बिस्तारै रेडक्रशका देशभर रहेका रक्तसञ्चार सेवामा यस्तो प्रविधि जडान गर्न जरुरी रहेको बताए। देशभरका रक्तसञ्चार केन्द्रहरुमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्ने पहलको शुरुवात भएको उनको भनाइ छ।
उनले भने, ‘यदी हामीले रगतजाँचका अन्य प्रयासहरु गर्यौं भने ६ महिनाको लागि विन्डो पिरियड डिटेक्ट गर्छ एलाइजा गर्यो भने तीन महिनाको गर्छ। त्यसो हुँदा त ९० दिनमा पनि कोहीमा इन्फेक्सन भयो भने डोनेसन गर्नसक्छ। यो क्लिया मेथोडोलोजि हो। यसले १२ देखि १५ दिनको इन्फेक्सनलाई डिटेक्ट गर्छ। १८० दिनबाट हामी १२ दिनमा पुगेका छौं। रगतको सुरक्षा गुणात्मक रुपमा बढ्यो। यसले चार वटा इन्फेक्सिक डिजिजलाई रगतको माध्यमबाट सर्नको लागि बढीभन्दा बढी होशियारी अपनाउन सक्छौं।’
यसअघि उक्त केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटि हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाएको थियो।
Shares

प्रतिक्रिया