समाज


बाबु र भाइको हत्यापछि प्रहरी कार्यालय पुगेका मिलनको घाँटीमा पासोको चोट

बाबु र भाइको हत्यापछि प्रहरी कार्यालय पुगेका मिलनको घाँटीमा पासोको चोट

मारिएका भाइ र बुवा तथा मिलन आचार्यको फाइल तस्बिर


नेपालखबर
पुस ९, २०८१ मंगलबार १४:४, काठमाडौँ

भक्तपुरको बालकोटमा बाबु र भाइको हत्या गरेपछि आफूले पनि आत्महत्याको प्रयास गरेको मिलन आचार्यले बताएका छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षका प्रवीण आचार्य बालकोटमा मृत फेला परेका थिए।

कोठाभित्र उनीहरूको शव फेला परे पनि सँगै बसेका जेठा छोरा २६ वर्षका मिलन आचार्य भने ढोकामा चाबी लगाएर बाहिरिएका थिए।

उनी शनिबार राति साढे ३ बजेतिर स्कुटरमा बाहिरिएको सीसीटीभी फुटेजमा देखिएको थियो।

मिलनले मंगलबार बिहान भने आफैँ प्रहरी कार्यालयमा गएर बाबु र भाइको हत्या गरेको बयान दिएका छन्।

प्रहरी वृत्त महाराजगन्जमा पुगेका मिलनले बाबु र भाइको हत्या गरेर आफू पनि आत्महत्या गर्ने सोचले घटना गरेको बताएका छन्। 

आइतबार आत्महत्याका लागि भक्तपुरको बिरुवा भन्ने ठाउँमा पुगेको र सलको पासो लगाएर मर्ने प्रयास गरेको उनले बताएका छन्।

उनको घाँटीमा पनि चोट रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ। 

‘भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर रुखमा झुण्डिएको तर सल चुँडिएको बयान दिएका छन्। उनको घाँटीमा पनि चोट लागेको देखिन्छ। हामी यसलाई थप पुष्टि गर्ने प्रयासमा छौँ’, अनुसन्धान अधिकारीले भने। 

‘बुबा पनि डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। भाइ पनि खासै नपढ्ने कुलतमा लागे जस्तो थ्यो। आफू पनि ६ पटक लोकसेवाको परीक्षा दिएँ।कहिले सुब्बा कहिले खरिदार तर पास हुन सकिनँ। आफ्ना कारण पनि परिवारलाई तनाव भयो जस्तो लाग्यो। मैले पनि केही गर्न सकिनँ। यो भन्दा त बाबुलाई पनि मुक्ती दिँदा ठिक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइलाई मारेपछि म पनि मर्छु भनेर यो सबै गरेको हुँ। कुनै झगडा परेर हत्या गरेको होइन।’

शनिबार बेलुका तीन बाबुछोरा सँगै खाना खाएर सुतेका थिए। बालकोटमा दुई वटा कोठा लिएर मिलन र प्रविण बस्थे। उनीहरु दुवै जना पढ्न बसेका थिए। मिलन लोकसेवाको तयारी गरिरहेका थिए। ६ पटक उनले परीक्षा पनि दिइसकेका थिए। 
प्रविण विज्ञान संकायमा स्नातक पढ्थे। 

एकसाता अघि कुलप्रसाद पनि काठमाडौँ आएका थिए। जिल्ला हुलाक कार्यालय दिक्तेलमा कार्यरत नायव सुब्बा कुलप्रसाद निमित्त कार्यालय प्रमुख पनि हुन्। हुलाक विभागमा काम छ भन्दै उनी काठमाडौँ आएका थिए। गत शुक्रबारसम्म पनि कार्यालयका कर्मचारीहरुसँग कुरा हुँदा विभागमै पुगेको बताएका थिए। 

शनिबार बेलुका दुईछोरासँगै खाना खाएको सँगै रहेको अर्को कोठामा बस्ने मानिसले देखेको बताएका छन्। तर आइतबार बिहान उनीहरुको कोठामा ताला लगाइएको थियो। आइतबार दिनभर ताला खुलेन। सोमबार पनि ताला नखुलेपछि अर्को कोठामा रहेकाहरुले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरी पुगेर ताला फोडेर हेर्दा भित्र दुवै जना मृत फेला परेका थिए। कुलप्रसाद एउटा कोठामा र प्रविण अर्को कोठामा मृत भेटिएका थिए। उनीहरुको हत्या गरिएको निस्कर्षमा प्रहरी सुरुमै पुगेको थियो।

सँगै रहेका जेठा छोरा फरार रहेपछि हत्यामा उनकै संलग्नता रहेको प्रहरीको आशंका थियो। प्रहरीले आशंका गरेजस्तै मिलनले सोमबार भने प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण पनि गरेका हुन्। 

अब उनलाई जिल्ला अदालत भक्तपुरबाट हिरासतमा राख्न अनुमति लिएर थप अनुसन्धान गर्ने भक्तपुरका प्रहरी प्रमुख एसपी माधव बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad