समाज


हुलाक प्रमुख आचार्य ६ दिनअघि आएका थिए काठमाडौँ, शनिबार नै हत्या भएको आशंका

हुलाक प्रमुख आचार्य ६ दिनअघि आएका थिए काठमाडौँ, शनिबार नै हत्या भएको आशंका

नेपालखबर
पुस ८, २०८१ सोमबार १५:५, काठमाडौँ

भक्तपुरको बालकोटमा मृत फेला परेका बाबु–छोराको शनिबार राति नै हत्या भएको आशंका प्रहरीले गरेको छ।

सूर्यविनायक नगरपालिका २ बालकोटस्थित डेरामा सोमबार बिहान बाहिरबाट ताला लगाएको कोठाभित्र खोटाङको दिक्तेल नगरपालिका घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले उनीहरूको शनिबार नै हत्या भएको आशंका गरेका छन्। सोही घरमा डेरामा बस्नेले प्रहरीलाई बताए अनुसार आइतबार पनि उक्त कोठामा ताला लागेको थियो।

सोमबार बिहान पनि ताला नखुलेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। नायव सुब्बा कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेलका निमित्त प्रमुख समेत हुन्। उनी हुलाक विभागमा पनि काम रहेको र छोराहरूसँग पनि भेट हुन्छ भन्दै पुस २ गते काठमाडौँ आएका थिए।

हुलाक कार्यालय दिक्तेलका कर्मचारीसँग शुक्रबार पनि सम्वाद भएको पाइएको छ। त्यसक्रममा उनले आफू हुलाक विभागमा भएको बताएका थिए।

उनका जेठा छोरा मिलन आचार्य र कान्छा प्रविण आचार्य अध्ययनका लागि बालकोटमा डेरा लिएर बसेका थिए। उनी पनि काठमार्डौँ आएपछि छोराहरुसँगै बस्दै आएका थिए।

तर सोमबार बिहान कान्छा छोरासँगै मृत अवस्थामा फेला परेका हुन्। २ वटा कोठा डेरा लिएकोमा बाबु र कान्छा छोरा छुट्टा छुट्टै कोठामा मृत फेला परेका हुन्।

जेठा छोरा भने हाल बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ। डीएसपी न्यौपानेका अनुसार मिलन हाल सम्पर्कविहीन रहेको र उनको खोजि भइरहेको छ।

दुई जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टमका लागि लगिएको छ।

प्रहरीले तालिमप्राप्त कुकुरसहित घटनाको अनुसन्धान गरिरहेको छ। मृतक दुवैको शरीरमा चोटपटक देखिएको छ।

कुलप्रसादका दुई छोरीमा जेठी नायव सुब्बा छिन्। कान्छी हाल अष्ट्रेलियामा छिन्। श्रीमान श्रीमती मात्रै दिक्तेलमा बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad