समाज


९ स्थानीय तहमा मात्रै आधारभूत अस्पताल निर्माण

९ स्थानीय तहमा मात्रै आधारभूत अस्पताल निर्माण

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १२:३६, काठमाडौँ

सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो। हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ। 

मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो। ‘सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ८४ स्थानीय तहमा रु चार अर्ब ४३ करोड पठाइसकेका छौँ’, अधिकृत खड्काले भने।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो। केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन। 

सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ। दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भएको छैन। 

‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन्। सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ’, अधिकृत खड्काले भने।

उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन रु ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि रु तीन अर्ब २० करोड विनियोजन गरिएको छ । विसं २०७७ मा  प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए। 

त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, एक सय ५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो।  

सरकारले पाँच श्ययाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad