गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम पुरस्कार जित्न सफल भएकी छन्।
शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उनले २ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।
यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै १ लाख रुपैयाँ पुरस्कार जितेकी छन्। तेस्रो स्थानमा रसियाबाट सहभागी समिरा केसीले ५० हजार नगद पुरस्कार प्राप्त गरिन्। प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कारवापत ३० हजार रूपैयाँ जितेकी छन्।
प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो। निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र पूर्वमिस नेपाल सुगरिका केसी थिए।
एनसीसी इजरायलका अध्यक्ष कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विदेशमा रहेका नेपालीहरूलाई एउटै मञ्चमा ल्याउनुका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताए।
यस्तै कार्यक्रमले सहभागीहरूको वक्तृत्व क्षमता प्रदर्शन गर्न र नेपाली भाषा–संस्कृतिको प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा बद्री केसीले बताए। उनले सम्पूर्ण विजेतालाई बधाई दिँदै नयाँ पुस्ताका गैरआवासीय नेपालीहरूको उत्साहपूर्ण सहभागिताप्रति खुसी व्यक्त गरे।
एनसीसी इजरायलले आफ्नो १७ औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने २ जना अतिथि वक्ताहरू ओजश्वी आचार्य र पेन्सा रेग्मी थिए।
Shares

प्रतिक्रिया