सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतमा आफूविरुद्ध आक्रोश पोखेपछि संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले जवाफ फर्काएका छन्।
हिरासत म्याद थपका लागि बिहीबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदा पूर्वगृहमन्त्री लामिछानेले थापाले लेखेको ‘स्क्रिप्ट’अनुसार फिल्म छायांकन भइरहेको टिप्पणी गरेका थिए।
उनले इजलाससमक्ष आफू निर्दोष भएको जिकिर गर्दै आफूलाई लगाइएका सबै आरोप सहकारी घोटाला छानबिनका लागि गठित संसदीय विशेष समितिका सभापति थापाकै निर्देशनमा भइरहेको बताएका थिए।
उनले भनेका थिए, ‘श्रीमान्। यो स्क्रिप्ट र कहानीका लेखक सूर्य थापा हुन्। उनले लेखेको स्क्रिप्टअनुसार नै छायांकन भइरहेको छ। अहिले मन्ध्यान्तरमा छ। मैले संसदीय छानबिन समितिमा गएर आफूले निर्दोष भएको बताएँ, तर उनले हरेक मिडियामा पुगेर ममाथि झुटा कुरा लगाए। बोलाउँदै नबोलाएको मिडियामा पनि गएर बोले तर उनले आफ्नै नेताले मलाई दिएको क्लिन चिट बिर्से।’
यसविरुद्ध संसदीय विशेष समितिका सभापति थापाले भने सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
‘क्लिन चिटको भ्रम र प्रतिशोधको नाममा कपटपूर्ण नाटकसँगै मेराविरुद्धको हेट क्याम्पियन र गालीगलोज पाँच जिल्ला पुगेर पोखरा फर्किएपछि अदालसमक्ष छताछुल्ल पोखिएछ’, थापाले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाउँदा नबुझाउँदै सिर्जना गरिएको भ्रमको तुवाँलो चिरेर समाजलाई स्पष्ट पार्न र प्रतिवेदनको समग्र पक्ष, निष्कर्ष, सुझाव र सिफारिसको प्रतिरक्षा गरेर आफूलाई प्राप्त जिम्मेवारीको निष्ठापूर्वक परिपालना र कर्तव्य निर्वाह नै गरिएको थियो। समितिको प्रतिवेदन सभापतिसहित सातै जना सदस्यको सर्वसम्मतिले पारित साझा स्क्रिप्ट रहेको तथ्य जगजाहेर नै छ।’
थापाले अगाडि लेखेका छन्, ‘लेनिनले भन्नुभएको छ- तथ्य, तर्क र आधार नभएपछि मान्छेले गालीगलोजको सहारा लिन्छ।’
रास्वपा सभापति लामिछानेलाई गत बिहीबारदेखि गणना हुनेगरी अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
Shares

प्रतिक्रिया