समाज


चितवन प्रहरीले भन्यो–भीडबाट जोगाउन रविलाई राति नै पोखरा लगिएको हो

चितवन प्रहरीले भन्यो–भीडबाट जोगाउन रविलाई राति नै पोखरा लगिएको हो

नेपालखबर
मंसिर २३, २०८१ आइतबार २१:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भीडबाट जोगाउनका लागि राति नै पोखरा लानुपरेको जिल्ला प्रहरी कार्यालय, चितवनले दाबी गरेको छ। 

रास्वपाले आफ्ना सभापति लामिछानेलाई चितवनबाट राति सुतिरहेका बेला हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद पोखरा लगिएको भन्दै आपत्ति जनाएको थियो। तर, आइतबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले त्यसलाई खण्डन गरेका छन्। 

रास्वपाले प्रहरीमाथि लगाएको आरोपलाई भ्रामक, झुटा र अनुमानमा आधारित भएको प्रहरीको दाबी छ। मंसिर १९ गते जिल्ला सरकारी वकिल कार्यालयमा बयान कार्य भइरहँदा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्ने लगायतको कार्य भएको पनि प्रहरीको दाबी छ।

‘तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सीमित हदम्याद रहेको विषय समेतलाई मध्यनजर गरी मंसिर १९ गते साढे ९ बजेको समयमा जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बयान कार्य समेत सकिएपश्चात जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट वार्तालाप गरिसकेपश्चात् भेटघाट कक्षबाटै मंसिर २० गते बिहान ००ः५ बजेको समयमा लगिएको हो,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ। 

लामिछानेलाई चितवनबाट पोखरा  प्रहरी नायब उपरीक्षकको कमाण्डमा सुरक्षित रुपमा लगि जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको भन्दै गलत सूचनाले मुद्दाको अनुसन्धानमा समेत प्रभाव पार्ने हुनाले तथ्यमा आधारित सूचना दिन पनि प्रहरीले अनुरोध गरेको छ।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad