समाज


डाक्नेश्वरी १ का नवनिर्वाचित वडाध्यक्षमाथि बलात्कार, हत्या र अपहरणको आरोप

डाक्नेश्वरी १ का नवनिर्वाचित वडाध्यक्षमाथि बलात्कार, हत्या र अपहरणको आरोप

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १५:५५, काठमाडौँ

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहमाथि बलात्कारसहित तीनवटा कसुरमा अनुसन्धान हुने भएको छ।

मंसिर १६ गतेको उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मधुवनी टोलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिए।

वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ। सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए।

साहसहितका ओरोपीविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ।
यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति वेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो।

उच्च अदालत जनकपुरको राजविराज इजलासबाट २०८० चैत ४ गते अनुसन्धानका लागि परमादेश जारी भएको थियो।

उच्च सरकारी वकिल कार्यालय राजविराज मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०८१ साउन ६ गते परमादेश प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।

२०८१ साउन १४ गते इलाका प्रहरी कार्यालयमा यो उजुरी पनि दर्ता गरेर साउन १५ गते पक्राउ अनुमति समेत लिइसकेको थियो।  

३८ वर्षका धीरेन्द्र साह वडाध्यक्षमा निर्वाचित भएपछि कार्यभार सम्हाल्न नपाउँदै हिरासत पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad