समाज


तीन दिनमा बल्ल सकियो स्वर्णलक्ष्मी ठगीमा रविको बयान, मंगलबार पोखरा पठाइने

तीन दिनमा बल्ल सकियो स्वर्णलक्ष्मी ठगीमा रविको बयान, मंगलबार पोखरा पठाइने

फाइल तस्बिर


नेपालखबर
मंसिर १७, २०८१ सोमबार १८:३५, काठमाडौँ

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको बयान तेस्रो दिनमा सकिएको छ।

कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग प्रहरीले गएको शुक्रबारदेखि सोमबारसम्म तीन दिन बयान लिएको हो।

बयान सकिएकाले अब उनलाई पोखरा नै पठाइने काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले नेपालखबरलाई जानकारी दिए।

रजौरेले भने, ‘बयान सकिएको छ। अझै पनि केही अनुसन्धान गर्नुपर्ने विषय छ कि भनेर हामी हेर्दै छौँ। भोलि (मंगलबार) सम्म पोखरा पठाउन सकिनेछ।’ 

रविलाई गत बिहीबार (मंसिर १३ गते) पोखराबाट काठमाडौँ झिकाइएको थियो।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।

पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भइसकेको छ। सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देहीको भैरहवासमेत लगिएको थियो।

अब उनलाई सहारा सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन पनि लैजाने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad