चिकित्सा चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक आज बस्दै छ।
आइतबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासको पुरानो सचिवालयमा बस्नेगरी आयोगको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा अहिले निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद छ। विवादको कारण सात सय ५० जना विद्यार्थी पीजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको अवस्थामा आयोगको बैठक बस्न लागेको हो।
आयोगले सदस्यहरूलाई आज बस्न लागेको बैठकका मुख्य एजेन्डाका रूपमा नौ विषय पठाएको छ। त्यसमा पीजी भर्नामा देखिएको विवादको विषय उल्लेख गरिएको छैन।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा निजी मेडिकल कलेजमा पीजी भर्नाका विषयमा पनि छलफल हुने सम्भावना छ।
यसअघि नै प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई निजी मेडिकल कलेज र पीजी अध्ययन गर्ने विद्यार्थीको समस्या समाधान गर्न निर्देशन दिएका थिए।
आजको बैठकका अधिकांश एजेन्डा आयोगको नियमित कामका विषयमा केन्द्रित छन्।
बैठकमा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिससम्बन्धी विषय, आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन, चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृतिसम्बन्धी विषयलाई बैठकका मुख्य एजेन्डाका रुपमा समावेश गरिएको छ।
Shares

प्रतिक्रिया