समाज


तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ युवाको मृत्यु, अर्का गम्भीर घाइते

तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ युवाको मृत्यु, अर्का गम्भीर घाइते

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ७:४४, काठमाडौँ

मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जना युवाको मृत्यु भएको छ। घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ।

बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, मोरङकै कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद जोशीले जानकारी दिए। 

‘तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो,’ डीएसपी जोशीले नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमालको अहिले झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि चिन्ताजनक छ।’

धिमालको अरनिको अस्पताल उर्लाबारीमा, गुरुङको मदन भण्डारी अस्पताल मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो। 

दुर्घटनामा परेका दुवै मोटरसाइकल कसले चलाएको थियो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। मृतक दीपक र विष्णु नातेदार भएका बताइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी जोशीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad