राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले ‘पुरुष रुन सक्ने’ संसार बनोस् भन्ने कामना गरेका छन्।
आज (नोभेम्बर १९ तारिख) अन्तर्राष्ट्रिय पुरुष दिवसका अवसरमा पुरुषहरूलाई शुभकामना दिँदै कार्कीले ‘पुरुष भएर रुन हुँदैन’ भन्ने सामाजिक मान्यता भत्किनुपर्ने इच्छा प्रकट गरेका हुन्।
‘पीडामा रुन खोज्यो, लोग्ने मान्छे भएर रुनु हुन्न भन्दै सामाजिक मान्यता अगाडि उभिन्छ’, मंगलबार बिहान कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुरुषले धित मरुन्जेल रुन सक्ने संसार बनोस्। पुरुषले दुईहात उठाएर म सक्दिनँ भन्दा उसको इज्जत नजाओस्। सबै पुरुषहरूलाई अन्तर्राष्ट्रिय पुरुष दिवसको साह्रै धेरै शुभकामना!’
यस्तो छ उनको पूरा स्टाटस-
‘एउटा पुरुषले कसैलाई प्रेम प्रस्ताव राख्यो, अस्वीकृत हुनुको पीडाभन्दा बढी 'म पुरुष'लाई के ठान्लान् भन्ने संशयले बढी दु:ख दिन्छ। पीडामा रुन खोज्यो, 'लोग्ने मान्छे भएर रुनु हुन्न' भन्दै सामाजिक मान्यता अगाडि उभिन्छ।
'तँ पुरुष होस्, तैँले गर्नैपर्छ' भनेर सानै काँधदेखि ठूला-ठूला भारी बोकाइन्छ। आफ्ना सपनाभन्दा धेरै परिवारका, समाजका र देशका सपनाहरू प्राथमिकतामा पार्न जोडबल गरिन्छ।
पुरुष जिम्मेवारी बोक्न, पैसा कमाएर बिल तिर्न, युद्ध र राजनीति गर्न मात्रै जन्मिएको होइन। दैनिक जीवन पुरुषको पनि छ। समाजले बाँधिदिएको नियमभन्दा बाहिर, आफ्नै अहमताले नढाकेको संसार पनि छ पुरुषको।
आज अन्तर्राष्ट्रिय पुरुष दिवस। हरेक पुरुषहरू पुरुष हुनुको सामाजिक बन्धनबाट उम्किएर स्वतन्त्र हुन सकून्। हरेक पुरुषहरू आफ्नै मनको पुरुषत्वको अहमताबाट बाहिर निस्कन सकून्।
पुरुषले धित मरुन्जेल रुन सक्ने संसार बनोस्। पुरुषले दुईहात उठाएर 'म सक्दिनँ' भन्दा उसको इज्जत नजाओस्। सबै पुरुषहरूलाई अन्तर्राष्ट्रिय पुरुष दिवसको साह्रै धेरै शुभकामना।’
किन र कहिलेदेखि मनाउन थालियो पुरुष दिवस?
महिला दिवसको तुलनामा पुरुष दिवस कमै मात्र मनाइन्छ। धेरैलाई पुरुष दिवसबारे जानकारी पनि छैन।
विश्वमा सन् १९६० को दशकदेखि पुरुष दिवस मनाउन थालिएको हो। यो दिवस हरेक वर्ष नोभेम्बर १९ मनाउने गरिएको छ।
विश्वभरि नै पुरुषको वर्चस्व भए पनि पुरुष पनि विभिन्न पीडामा हुन्छन्। त्यही कुरा उजागर गर्न पुरुष दिवस मनाउन थालिएको बताइन्छ।
Shares

प्रतिक्रिया