समाज


जलनपीडितले स्वास्थ्यमन्त्रीलाई भेटेर दिए यस्ता सुझाव

जलनपीडितले स्वास्थ्यमन्त्रीलाई भेटेर दिए यस्ता सुझाव

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार ७:०, काठमाडौँ

जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेका छन्। सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले मंगलबार स्वास्थ्यमन्त्री पौडेललाई भेटेर जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेका लागि निःशुल्क उपचारको व्यवस्था हुनु सकारात्मक रहेको भन्दै खुसी व्यक्त गरेका छन्।

आफै जलनपीडित समेत रहेकी सांसद कंशाकारले अहिले जलनपीडितलाई उपचारमा सहज भएको बताइन्। ‘उपचार सहज बनाउन विगतमा मैले पटक–पटक कुरा उठाएँ। संसदमा प्रस्ताव पनि दर्ता गराएँ। तर सुनुवाइ भएको थिएन। तर, अहिले हामीले लामो समयदेखि उठाएको जलनपीडितका समस्या सम्बोधन भएका छन्,’ उनले भनिन्। 

जलनपीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएकी अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार गरिनु महत्वपूर्ण निर्णय भएको बताइन्। 

अब जलनका घटना नहुन् भनेर सजगता अपनाउन पनि उनले ध्यानाकर्षण गराइन्। थापाले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने सुझाव दिइन्। 

तनहुँका श्याममणि आचार्यले जलनपीडितका लागि निःशुल्क उपचारको निर्णय उदाहरणीय भएको बताए। झापाकी जलनपीडित ज्योति हरिजनले भोग्नेलाई मात्र पीडा थाहा हुने भन्दै अब महङ्गो कस्मेटिकलगायतका उपचारको शुल्क घटाउन पहल हुने आशा गरिन्। 

स्वास्थ्यमन्त्री पौडेलले कसैले पनि आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनु वा अङ्गभङ्ग हुन नपरोस् भनेर निःशुल्क उपचार तथा जलन वार्ड विस्तारका लागि पहल भएको बताए।

‘मैले उपचार अभाव तथा ढिलाइ भएका धेरैको पीडा आफूले नभोगे पनि देखेको छु’, उनले भने, ‘यी समस्या समाधान गर्न बजेटमा नपरे पनि आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर उपचार सातै प्रदेशमा अनि नसक्नेलाई निःशुल्क बनाएका हौँ।’

मन्त्री पौडेलले अब विद्युत्का कारण हुने जलनमा विद्युत् प्राधिकरणबाट उपचार वा बिमाका सम्बन्धमा के गर्न सकिन्छ भनेर लागिरहेको जानकारी दिए। कस्मेटिक उपचारमा महङ्गो शुल्क भन्ने गुनासो समाधान गर्नसमेत अनुगमन र नियमन गरिने उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad