समाज


मिथिलाञ्चलमा छठपर्वको तयारी सुरु

मिथिलाञ्चलमा छठपर्वको तयारी सुरु

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १४:५२, काठमाडौँ

मिथिलाञ्चल लगायत तराई/मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्वको तयारी सुरु भएको छ।

अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारीक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी सुरु हुन्छ।

छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरुलाई सजाउने कार्य जारी रहेको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ।

यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो। आदिदेव सूर्य भगवानलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले श्रृंगारिँदै छ।

खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरु गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरुलाई सजाइँदै छ।

तिहार सकिएलगत्तै छठको तयारी सुरु भएको गंगासागर छठ पूजा समिति अध्यक्ष हरिनारायण गुप्ताले बताए। उनले विगतको भन्दा राम्रो व्यवस्थापन र श्रृंगार गरिने बताए।

जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराजसर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरु छठ पूजा गर्ने गर्दछन्। जनकपुरधामका साथै तराई मधेसका गाउँ—गाउँमा रहेका पोखरीहरुलाई समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ।

चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन्।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad