समाज


केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण

केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १६:४६, काठमाडौँ

लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ।

नेपाल बालसाहित्य समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा तथा पूर्वमन्त्रीत्रय शङ्करप्रसाद कोइराला, प्रदीपकुमार ज्ञवाली, रघुजी पन्तलगायतले विमोचन गरे।
 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकूलपति कर्मचार्यले नेपालको कला क्षेत्रमा ६० वर्षदेखि क्रियाशील छन्। कृतिमा उनले कला क्षेत्रमा पुर्‍याएको योगदानको वर्णन गरिएको छ।

त्यसअवसरमा वरिष्ठ कलाकार शर्माले राज्यले कलाक्षेत्रको विकास र विस्तारमा ध्यान नदिएका कारण कलाकार खेतालाजस्ता हुनुपरेको भनी रोष प्रकट गरे।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकारको जीवनीमा आधारित पुस्तक प्रकाशनले व्यक्तित्वको सामाजिकीकरणको पाटोमा सफल अभ्यास भएको प्रतिक्रिया दिए।

पूर्वमन्त्री एवं साहित्यकार ज्ञवालीले कलाको माध्यमबाट कर्मचार्यले सामाजिक जागरण र राष्ट्रिय एकता कायम गर्न गरेको योगदानको चर्चा गरे।

साहित्यकार कोइरालाले समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति र व्यक्तित्वको जीवनी, व्यक्तित्व र कृतित्व सार्वजनिक हुन आवश्यक रहेको धारणा राखे।

वरिष्ठ पत्रकार पन्तले चित्रकलाले देश र समाजको संस्कृति, रहनसहन, वेशभूषा, इतिहास र जीवनशैलीको यथार्थ चित्र गर्ने भएकाले यसको महत्त्वबारे भाविपुस्तालाई पर्याप्त जानकारी दिलाउन आवश्यक रहेको बताए।

वरिष्ठ कलाकार कर्मचार्यले आफ्ना दाजु र सहपाठीको प्रेरणामा चित्रकला, मूर्तिकला र सिर्जनातर्फ लाग्न परेको घटना र परिवेश सुनाए।

नेपाल बालसहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले कला र साहित्यलाई जोड्ने पुलका रूपमा बाल साहित्यले काम गरिरहेको बताए।

लेखक आचार्यले नेपालको कलाक्षेत्रको विशिष्ट साधक कर्मचार्यको जीवनीमा आधारित पुस्तक प्रकाशन गर्ने कार्यलाई आफूले एउटा अवसरका रूपमा लिएको धारणा राखे।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपाली कलाक्षेत्रका क्षेत्रमा छ दशक योगदान दिने व्यक्तिको जीवनीमा आधारित पुस्तक प्रकाशित हुनुलाई कला क्षेत्रकै सम्मानका रूपमा लिएको बताए।

वरिष्ठ लेखक एवं प्राज्ञ जीवेन्द्रदेव गिरिले कर्माचार्यलाई अहिलेको अवस्थामा आइपुग्ने केकस्ता विषय र घटनाले मलजल गरेको छ भन्ने नालीबेली पुस्तक अध्ययनबाट प्राप्त गर्न सकिने प्रतिक्रिया दिए।

साहित्यकार मुकेश मल्लले कला र साहित्यलाई एक–अर्कालाई जोड्ने कार्यले सिर्जना कलात्मक हुनकासाथै गुणस्तरमा पनि सुधार ल्याउन योगदान पुर्‍याउने धारणा राखे।

बाल्यकालदेखि नै कलाक्षेत्रमा रुची राख्ने कर्मचार्य शुरुआति दिनमा नाटक खेल्ने र चित्र कोर्दै यस क्षेत्रमा लागेका छन्। अहिले उनले छ सयभन्दाबढी हुलाक टिकट डिजायन गर्ने विशिष्ट साधकको परिचय बनाइसकेका छन्। छ दर्जनभन्दा बढी बालपुस्तकमा चिताङ्कन गरेका उनले हजारौँ पुस्तकका लागि आवरण बनाइ सकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad