समाज


नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्छ: राष्ट्रपति

नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्छ: राष्ट्रपति

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८१ शनिबार ६:५१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

नेपाल संवतका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पौडेलले नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका व्यक्त गरेका छन्। 

राष्ट्रिय विभूति साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै उनले आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन्। 

‘लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ। नेपाली समाज सभ्य र सहिष्णु समाज हो, हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्’, राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ। 

राष्ट्रिय विभूतिसाख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो। यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ। 

यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad