गएको असोज दोस्रो साता बाढी पहिरोले क्षतविच्छेत भएको कान्ति लोकपथमा अहिले सुखदुःख गाडीहरु चलिरहेका छन्। असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण अवरुद्ध यो सडकखण्ड गएको असोज २२ गतेदेखि जेनतेन सञ्चालनमा छ।
ललितपुरको सातदोबाटोबाट टीकाभैरव हुँदै हेटौँडा निस्कने कान्तिलोकपथको कुल लम्बाइ ९० किलोमिटर हो। टीकाभैरवबाट नयाँगाउँ-तीनपाने-झाँक्रीडाँडा-काल्चेभिर- छपेली-बगुवा-ठिंगन-मकवानपुरगढी- चुनडाँडा- चौघडा हुँदै हेटौँडाको बुद्धचोक पुगेर कान्तिलोकपथ पूर्वपश्चिम राजमार्गमा जोडिन्छ।

२०१३ सालमा तत्कालिन राजा महेन्द्रले यो सडक निर्माणको शिलान्यास गरेका थिए। त्यतिबेला तीन वर्ष लगाएर सेनाले सडकको ट्रयाक तयार पारेको थियो। तर, निर्माण सुरु भएको ६८ वर्षसम्म पनि यो सडकको पूरैखण्डको निर्माण कार्य अझै पूरा भएको छैन।
०१६ सालमा राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख मकवानपुरको ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देख्न सकिन्छ।

काठमाडौँबाट मुग्लिन हुँदा हेटौँडा जाँदा दुई सय २६ किमी यात्रा तय गर्नुपर्छ। त्यसैगरी काठमाडौँबाट नौबीसे पालुङ हुँदै हेटौँडा पुग्न एक सय २६ किमी र बल्खु कुलेखानी हुँदा हेटौँडा पुग्न ९६ किमी लामो यात्रा गर्नुपर्छ। ती सडकको दाँजोमा कान्तिलोकपथ छोटो छ।
कान्तिलोकपथको ५१ किमि खण्ड मकवानपुरमा र बाँकी ३९ किमि खण्ड ललितपुरमा पर्छ। मकवानपुर खण्डमा लगभग सडक निर्माण सकिएको छ। यस खण्डमा खोलोपहिरोबाहेक सबै सडक कालोपत्रे र चौडा पारिएको छ। यो खण्डमा पछिल्लो बाढीपहिरोबाट धेरै क्षति भएको देखिँदैन।
तर, ललितपुर खण्डको केही सडक भने अझै ०१६ सालमा खोलिएको ट्र्याककै हालतमा छ। करिब चारपाँच किमी सडक यस्तो अवस्थामा छ, जहाँ सडक कालोपत्रे गर्नु त परै जावस्, चौडा र ग्राभेलसमेत गरिएको छैन।
ललितपुरको टीकाभैरब खण्डको सडक पनि गएको बर्खाको बाढीपहिरोले धेरै ठाउँमा क्षत विच्छेद पारेको छ। चौडा र कालोपत्रे गरिएको सडकमा माथिबाट खसेको पहिरो र लेदो थुप्रिएर बसेको छ। त्यो अझै हटाइएको छैन।
चट्टाने पहाड भएको ठाउँमा पहिरो खसेको छैन। तर, जहाँजहाँ पहाडको माटो काटेर सडक चौडा गरिएको छ, त्यो ठाउँमा पहिरो धेरै खसेको छ।
तीन-चार किमी सडक खण्डमा थुप्रिएको पहिरोलाई तत्कालको लागि एकतर्फी रुपमा हटाएर मुस्किलले गाडी गुड्न सक्ने बनाइएको छ। धेरै ठाउँमा सडक पहिरोले बगाएको छ।
कतिपय ठाउँमा तलबाट पहिरो र बाढीले सडकलाई ओडार जस्तो बनाएर काटेको छ। त्यसले दुर्घटनाको जोखिम निकै देखिन्छ। दिनमा भन्दा पनि रातको बेला अझै यो सडक यात्रा गर्न लायक छैन।

कहीँ सडक धस्सिएको छ भने कतै पहिरोले बगाएको छ। कुनै ठाउँ पहिरोका कारण सडक पुरिएको छ। धेरै ठाउँमा सडकबाट खोल्सा र खहरे बगेका छन्। पानीको दह जमेको छ।
असोज १२ गते मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुरको बागमती गाउँपालिका–२ वगुवास्थित बागमती खोलामा रहेको पुलको केही भाग बागमती बाढीले बगाएको थियो।
पुलको मुखकै सडक बगाउँदा निकै दिन यहाँ आवतजावत ठप्प थियो। बागमती नदी किनारमा करिब आठसय मिटरको बाँध निर्माण गरेर अहिले यहाँ गाडी चलाइएको छ।
हेर्नुहोस् थप तस्बिर

















Shares

प्रतिक्रिया