समाज


नेपालगन्जको विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालगन्जको विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १२:३६, बाँके

नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले  स्थापनकालदेखि अहिलेसम्म दुई हजार २६७ घटनाका छ हजार ७८२ नमूना परीक्षण गरेको छ। सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमुना परीक्षण भएको हो। 

उक्त परीक्षणमध्ये आर्थिक वर्ष २०७८र७९ मा ५०२ घटनाका एक हजार ५५२ नमुना, आव ०७९/०८० मा ७९९ घटनाका दुई हजार चार  सय ४० नमुना, आव ०८०/०८१ मा ७४७ घटनाका दुई हजार १८६ नमुना र आव ०८१/०८२ मा २१९ घटनाका ६०४ नमुना परीक्षण भएको नेपाल प्रहरी प्रदेश कार्यालय, विधि विज्ञान एकाइ, नेपालगञ्जले जनाएको छ। 

२०७८ मङ्सिरदेखि सो प्रयोगशालामा फौजदारी अपराधसँग सम्बन्धित शङ्कास्पद खाना, पेय पदार्थ, बान्ता, र्‍याल, ‘स्टोम्याच वास’ आदीबाट विषादी परीक्षण र रगतबाट मादक पदार्थ तथा लागुपदार्थको परीक्षण हुने गरेको नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ, नेपालगञ्जका प्रमुख यमलाल बस्नेतले जानकारी दिए। 

त्यसबाहेक भिसेरा नमूनाबाट विषादी तथा अन्य रासायनिक परीक्षण, जैविक नमुनाको परीक्षण समेत हुने गरेको छ। यस्तै अन्य अप्राकृतिक मृत्युसँग सम्बन्धित सम्पूर्ण भौतिक सबुद परीक्षण हुने गरेको छ।  ‘पर्याप्त जनशक्ति र प्रविधि नहुँदा केही घटना फर्छ्योट हुन बाँकी छ’,  प्रहरी निरीक्षक बस्नेतले भने। 

उनले जटिल घटनामा अदालतमा द्विविधा रहँदा अदालतलाई बकपत्रमार्फत स्पष्ट गरिने जनाउँदै लुम्बिनीबाहेक कर्णाली र सुदूरपश्चिमका घटना पनि परीक्षण गर्नुपर्ने भएकाले कामको चाप बढेको तर जनशक्ति पर्याप्त नभएको बताए। प्रविधिमा सहज पहुँच र तालिम पर्याप्त भए काम गर्न सहज हुने प्रमुख बस्नेतको भनाइ छ। 

प्रदेशअनुसार लुम्बिनीमा एक हजार ११२ घटनाका तीन हजार ८८ नमुना, कर्णालीमा चार८७ घटनाका एक हजार ३५० नमुना र सुदूरपश्चिममा ६६८ घटनाका दुई हजार ३४४ सहित कुल छ हजार ७८२ नमुनाको परीक्षण सम्पन्न भएको छ। 

भविष्यमा विधि विज्ञानका विभिन्न विधाका शाखा सञ्चालन गर्ने योजना रहेको र तत्काल लागुऔषधसँग सम्बन्धित नमुनाको परीक्षणसमेत शुरु गर्ने प्रयोगशालाले जनाएको छ। काठमाडौँ बाहिर पश्चिम नेपालमा प्रहरीले यस प्रयोगशालामार्फत परीक्षण सुरु गरेपछि अपराध अनुसन्धान तथा फौजदारी न्यायप्रणालीमा सघाउ पुग्दै आएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad