समाज


गढीमाई मेलामा खानेपानी अभाव हुँदैन : मन्त्री यादव

गढीमाई मेलामा खानेपानी अभाव हुँदैन : मन्त्री यादव

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार २१:३५, बारा

खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीे अभाव नहुने स्पष्ट पारेका छन्। गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए।

मन्त्री यादवले ‘ओभरहेड ट्यांकी’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत गर्दै ठाउँठाउँमा डिप बोरिङको समेत प्रबन्ध गर्ने र यसै साताभित्र केही थान घुम्ती शौचालय मेला व्यवस्थापन समितिलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘कुनै प्रकारले शुद्ध खानेपानीको कमी हुन नदिनका लागि प्रदेश सरकार, दातृ तथा सहयोगी संस्थाहरूसँग मेलामा छलफल भइरहेको छ। पानीको निकासका लागि ढल निकास तथा नाला निर्माण, पाइप जडानको काम पनि चाँडै नै सुरु गर्छौं’, उनले भने।
 
मन्त्री यादवले मेलाका लागि सरकारको पूर्ण सहयोग रहने बताए। उनले भने, ‘सहयोग गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेला समितिका पदाधिकारी तथा गढीमाई नगरपालिका प्रमुखलाई सन्देश दिन मलाई निर्देशन दिइसक्नुभएको छ।’

मन्त्री यादवले मेलाको सफलताका लागि स्थानीय नागरिकले विगत वर्षदेखि नै सम्पूर्ण रूपमा सहयोग गर्दै आएकामा प्रशंसा गरे।

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले मेला सफल बनाउन सबैलाई आग्रह गरे। उनले हिन्दूहरूको आस्थामाथि खेलबाड गर्ने, मेलालाई कुनै प्रकारले भाँड्न खोज्नेहरूलाई कानुनको दायरामा ल्याउन शान्ति सुव्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए।

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, मेला व्यवस्थापन समितिका उपाध्यक्ष रामचन्द्र साह, महासचिव वीरेन्द्र यादवलगायत उपस्थित थिए।

यसैबीच, मन्त्री यादवले कलैयास्थित करणराज पार्टी प्यालेसमा जनता समाजवादी पार्टीको जिल्ला भेलालाई सम्बोधन गरे। 

पार्टीका उपमहासचिवसमेत रहेका मन्त्री यादवले साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूसहित सिङ्गो पार्टी पङ्क्ति जुटेको बताए। 

‘साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूहरू जुटेका छौँ’, उनले भने, ‘जनताको सेवामा निरन्तर क्रियाशील रहँदै मधेससँगै समग्र देशकै समृद्धि र विकासलाई अगाडि बढाउन आफ्नो पार्टी प्रतिबद्ध छ।’

कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले मधेसको विकास र अधिकारका लागि अझै धेरै संघर्ष गर्नुपर्ने धारणा राखे। उनले भने, ‘मधेसवासीको अधिकारका लागि हाम्रो संघर्ष जारी छ र अब जसपाले नै परिवर्तनको नेतृत्व गर्नेछ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad