समाज


महानगरको चुनौती- धर्मशालाका अनधिकृत संरचना जुनसुकै बेला भत्काउँछौँ

‘स्वीकृति नभएका संरचना भत्काउने र धर्मशालाको व्यवस्थापन गर्ने जिम्मा पाएका छौँ’
महानगरको चुनौती- धर्मशालाका अनधिकृत संरचना जुनसुकै बेला भत्काउँछौँ

नेपालखबर
असोज ३०, २०८१ बुधबार १८:२३, काठमाडौँ

पशुपतिनाथ परिसरको गौशालास्थित धर्मशालाका अनधिकृत भत्काउन पुगेका काठमाडौँ महानगरपालिकाका दुईवटा डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले सरकारसँग जवाफ माग गरेको छ। 

बुधबार दिउँसो धर्मशालामा पुगेका डोजरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर राखेको थियो। उक्त विषयमा आपत्ति जनाउँदै मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जुनसुकै बेलामा धर्मशालाका नाममा बनेका संरचना हटाउन आफूहरू कटिबद्ध रहेको जिकिर गरे। 

‘त्यो देवभूमिको क्षेत्रमा कुनै पनि हिसाबले पशुपतिनाथले नै नचाहेको गतिविधि गर्न पाइँदैन। ती संरचना हटाउन महानगरपालिका कटिबद्ध रूपमा लागिरहेको छ,’ शाहले बुधबार साँझ नेपालखबरसँग भने, ‘प्रशासन सकारात्मक देखिन्छ। तर, माथि जब कुरा पुग्छ, त्यहाँको नेतृत्वले पशुपतिनाथको महत्त्व जुन छ, त्यो रोक्न खोजिरहेको छ।’

साथै, उनले महानगरपालिकाले डोजर नियन्त्रणमा लिएको घटनालाई गम्भीर रूपमा लिएको र उक्त कार्य भर्त्सनायोग्य रहेको बताए। 

‘नियन्त्रणमा लिएर अगाडि बढाउन दिनुभएन। यसको महानगरपालिकाले घोर भर्त्सना गर्छ। उहाँहरूले जसलाई कानुन अनुसार सुरक्षा दिनुपर्ने हो, त्यो नगरेर अमुक एउटा समितिलाई बचाइराख्नुभएको छ। यो कसका लागि, कसका फाइदाका लागि हो, यो विषय गम्भीर रूपमा उठेको छ। सरकारले यसको जवाफ दिनुपर्छ,’ शाहले भने।

उनका अनुसार, पशुपति धर्मशालाको सञ्चालन र व्यवस्थापनका लागि महानगरले जिम्मा पाएको छ। पशुपति क्षेत्र विकास कोषले सञ्चालनको जिम्मेवारी दिएको हो। यस विषयमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, महानगर प्रमुख बालेन्द्र शाह र कोषका पदाधिकारीबीच पनि मन्त्रालयमा छलफल र समझदारी भएको थियो।

धर्मशाला क्षेत्रमा अनधिकृत रूपमा बनेका संरचना भत्काउनु महत्त्वपूर्ण विषय रहेको र यो महानगरको जिम्मेवारीभित्रै पर्ने शाहको भनाइ छ।

‘पशुपति विकास कोषले हामीलाई सञ्चालन र व्यवस्थापनका लागि दिएको एउटा विषय भयो। अर्को, अनधिकृत रूपमा जुन संरचना बनाइएको छ, त्यो भत्काउने विषय छ। यी दुवै विषयमा नियमित रूपमा प्रक्रियामा छौँ,’ उनले भने, ‘खाली गराउने एकातिर चलिरहेको छ भने अनधिकृत रूपमा धर्मशालाबाहेक चरन क्षेत्रका लागि दिइएको ठाउँमा पनि संरचना बनाएर, स्वीकृति नलिएर केही संरचना बनेका छन्, ती संरचनाहरू भत्काउनेमा पनि काम गरिरहेको छौँ।’

दिउँसो नियन्त्रणमा लिइएका डोजरहरू नजिकै (एक सय मिटर पर) रहेको वडा कार्यालयमा राखिने र जुनसुकै बेलामा पनि त्यसले आफ्नो काम गर्न सक्ने उनले बताए। 

‘उक्त डोजर लैजानुस् भन्ने कुरा छ। हामी कुनै पनि समयमा एक सय मिटरमा रहेको वडा कार्यालयमा डोजर बस्छ। कुनै पनि समयमा हामी हाम्रो गतिविधि गर्न सक्छौँ,’ उनले भने। 

पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो।

उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोलीले बोर्ड राखेको हो।

तर, उक्त कार्यप्रति मारवाडी सेवा समितिले आपत्ति जनाएको थियो। मारवाडी सेवा समितिले गौशाला–धर्मशाला क्षेत्रमा आफ्नो भोगाधिकार रहेको दाबी गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad