समाज


श्रीमती र छोराको उपचार खर्च जुटाउन रुसी सेनामा गएका ज्ञानबहादुर एक वर्षदेखि सम्पर्कविहीन

श्रीमती र छोराको उपचार खर्च जुटाउन रुसी सेनामा गएका ज्ञानबहादुर एक वर्षदेखि सम्पर्कविहीन

सांकेतिक तस्बिर


नेपालखबर
असोज ३०, २०८१ बुधबार १६:३६, काठमाडौँ

रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन्। घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उनको सिङ्गो परिवार समस्यामा परेको छ।

घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुर्ख्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ। जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमान्कै फोन आयो कि भन्ने कुराले इन्दिरालाई बारम्बार झस्याङ्ग बनाउँछ।

आफू उच्चरक्तचाप र मधुमेहको तथा कान्छो छोरा मुटुको रोगी नियमित औषधि सेवन गर्नुपर्दा आर्थिक अभावसँगै श्रीमान् बेपत्ता भएपछिको पीडाले इन्दिराको शरीरसमेत दिनप्रतिदिन कमजोर बन्दै गएको छ।

‘निःशुल्क टिकट र राहदानीमा दुबई जानका लागि गत असोज ३० गते घरबाट बिदा भएर निस्कनुभयो, काठमाडौँमा पुगेपछि दलालको प्रलोभनमा परेर रसिया पुग्नुभएछ, मङ्सिर १३ गते अन्तिम सम्पर्क भएको थियो त्यसपछि कुनै जानकारी आएको छैन’ इन्दिराले भनिन्, ‘रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो र दोस्रो क्याम्पमा सारेपछि खानको समेत समस्या परेपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो।’

‘रसियामा पुगेको डेढ महिनासम्म सम्पर्क भएको थियो युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन’, इन्दिरा थापा भन्छिन्, ‘मुटुको रोगी कान्छो छोरा कक्षा २ मा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नुपर्ने भनेको थियो आर्थिक अभावको कारण उपचार गर्न सकिएको छैन अहिले नियमित औषधि खुवाउन सके त मुस्किल परेको छ । विद्यालयमा साथीको बाबा मोटरसाइकलमा लिन आउँदा कान्छो छोराले घरमा आएर बारम्बार बाबा मलाई स्कुलमा लिन कहिले आउनुहुन्छ भनेर सोध्छ मसँग उत्तर छैन।’

सात वर्षीय छोरोको उपचारसहित परिवारको खुसीका लागि ज्यानको जोखिम मोलेर रसियाका तर्फबाट युक्रेनको युद्धरत क्षेत्रमा पुगेका थापा अहिले सम्पर्कविहीन हुँदाको पीडा छँदैछ त्यसमा पनि रसिया जाँदा रु आठ लाख ऋण लागेको इन्दिराको भनाइ छ।

सशस्त्र प्रहरीमा छ वर्ष सेवा गरेका ४२ वर्षीय ज्ञानबहादुर परिवारको सुखका लागि साउदीलगायत विभिन्न तीन देशमा पुगेका थिए तर पनि बर्मा गयो कर्मसँगै भने जस्तै सोचेजस्तो आम्दानी नभएपछि रसिया गएका थिए।

सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गङ्गा र छोरी अमृतासहित पाँचजनाको परिवार रहेको छ। छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ।

दसैँको पर्वका अवसरमा खर्च नभएपछि विरौटामा रहेका काकासँग तीन हजार मागेर ल्याएको बताउँदै उनले भनिन्, ‘बर्दियाबाट आउँदा ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ।’

रसियन राजदूतावासबाट डीएनए परीक्षणका लागि बोलाएपछि ज्ञानबहादुरको दिदी राजकुमारी थापा भदौको ३० गते काठमाडौँ गएकी थिइन्।

पोखराको रत्नचोकमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएकी उनले गहभरि आँसु बनाउँदै भनिन्, ‘भाइ आउने आश अझै मरेको छैन।’

मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएका कारण विदेशिने सयौँ नेपाली एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले बेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौँमा आयोजित कार्यक्रममा समेत सहभागी भएको उनको भनाइ छ।

बिचल्लीमा परेको परिवारलाई आर्थिक सहयोग
रसियामा अभिभावक बेपत्ता भएपछि बिचल्लीमा परेको परिवारका लागि पोखरा–१७ आँखा अस्पतालमा सञ्चालित पुनः डिपोले आर्थिक सहयोग गरेको छ। विभिन्न समाचारमा प्रकाशित समाचारका आधारमा डिपोका तर्फबाट रु पाँच हजार पाँच सय सहयोग गरिएको हो।

पोखरा–१६ बाटुलेचौरस्थित निवासमा पुगेर डिपोका प्रमुख हिमलाल पुनले इन्दिरा थापामगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। निर्माण सामग्री बिक्रीबाट भएको आम्दानीले पीडित परिवारलाई सहयोग गर्ने अवसर प्राप्त गरेकामा आत्मसन्तुष्टि भएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने पुनले प्रतिबद्धता व्यक्त गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad