समाज


बालबालिकाको क्यान्सर रोक्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो निःशुल्क खोप

बालबालिकाको क्यान्सर रोक्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो निःशुल्क खोप

नेपालखबर
असोज २९, २०८१ मंगलबार २२:२४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्नका लागि सहयोगको आग्रह गरेका छन्।

मन्त्री पौडेलले जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डा टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका हुन्। नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए।

जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले जानकारी दिए।

६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन आग्रह
मन्त्री पौडेलले सम्मेलनका क्रममा विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेट गरे। उनले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्न लागिपरेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि ६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन आग्रह गरे।

मन्त्रालयले सानै उमेरदेखि नै क्यान्सर नियन्त्रणका लागि योजना बनाएर काम थालेको भन्दै मन्त्री पौडेलले गाभीबाट प्राप्त हुने सहयोगले साथ मिल्ने बताए।

मन्त्री पौडेलले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग पनि भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताए।

जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए। जवाफमा मन्त्री पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताएका हुन्।

स्वास्थ्य स्वयंसेविकाको प्रशंसा
नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भइरहेको सुधारको विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका छन्।

विश्व स्वास्थ्य सिखर सम्मेलनमा कार्यक्रममा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलल नेपालको दूरदराजका क्षेत्रमा समेत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र स्वास्थ्यका क्षेत्रमा मातृ र शिशुका लागि उदाहरणीय काम गरेको बताएका थिए।

स्थानीय समुदायका महिलाले प्रभावकारी योगदान दिएकै कारण मातृशिशु मृत्युदर कम गर्न सकेको जानकारी नेपाली प्रतिनिधिमण्डलले दिएको थियो। त्यस क्रममा सहभागीहरूले नेपालको प्रशंसा गरेका हुन्। 

सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री पौडेलले नर्वेका स्वास्थ्य मन्त्री जाँ क्रिस्चियन भेस्ट्रे तथा युनिसेफका शीर्ष अधिकारीसँगसमेत भेटवार्ता गर्दै स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गरेका थिए।

युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टर ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको व्यवस्थित परिचालन र  सशक्तीकरणका लागि पर्याप्त सेवासुविधा आवश्यक रहेकाले त्यसमा सहयोगको अपेक्षा प्रस्तुत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad