समाज


काभ्रेकी एसपी भन्छिन्- बीपी राजमार्गमा गाडी चल्न थालेका थिए, फेरि पहिरो खस्यो

काभ्रेकी एसपी भन्छिन्- बीपी राजमार्गमा गाडी चल्न थालेका थिए, फेरि पहिरो खस्यो

नेपालखबर
असोज २५, २०८१ शुक्रबार १३:७, काठमाडौँ

काभ्रे र सिन्धुलीका प्रहरी प्रमुख (एसपी)ले अहिले बीपी राजमार्ग भएर यात्रा गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

शुक्रबार दिउँसोबाट बीपी राजमार्गमा सवारी साधन सञ्चालन गर्न तयारी भइरहँदा आज बिहान काभ्रेको रोसी गाउँपालिका ११ पिप्लेमा सुख्खा पहिरो खसेपछि यो सडक अहिले फेरि पूर्णरुपमा अवरुद्ध बनेको छ। 

आज बिहान रोसी गाउँपालिका ११ पिप्ले भन्ने ठाउँ (मंगलटार नजिकै) एक्कासी सुख्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध बनेको हो।

पहिरोमा दुईवटा सवारी साधन पनि पुरिएका छन्। तर, सवारी साधन पुरिए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन्। 

सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोसी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै  गरेको ना १ ज। ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ।

‘घटनामा मानवीय क्षति नभए पनि सडक पूर्णरुपमा अवरुद्ध बनेको छ,’ एसपी खड्काले नेपालखबरसँग भनिन्, ‘अहिलेसम्म पुरिएका गाडिसमेत निकाल्न सकिएको छैन।। माथिबाट पहिरो झरिरहेको छ।’ 

घटनामा चालक र सहचालकले भागेर ज्यान जोगाएका छन्। दुई साताअघिको बाढीपहिरोले मंगलटारतिर अलपत्र परेका गाडि मर्मतको लागि भकुन्डे बेँसीतर्फ आउँदै गर्दा बस पहिरोमा परेको एसपी खड्काको भनाई छ। 

बीपी राजमार्गमा आजबाट गाडी चलाउने भनेर सडक विभागले तयारी अन्तिम चरणमा पुर्याएको अवस्थामा फेरि हिरो खसेको हो। 

‘प्रकृतिसँग मान्छेको केही लाग्ने रहेनछ,’ एसपी खड्काले भनिन्, ‘नसोचेको ठाउँमा माथिबाट सुख्खा पहिरो खस्यो। हिजो साँझसम्ममा बीपी राजमार्गलाई अस्थायी सडक बनाएर जोडिएको थियो। आज बिहान एक्कासी पहिरो खसिदियो।’ 

पहिरो खसेपछि काभ्रे र सिन्धुली प्रहरीले बीपी राजमार्ग भएर यात्रा नगर्न अनुरोध गरेका छन्। 

‘हामीले यो सडक भएर आवत जावत नगर्न सूचना जारी गरिसकेका छौँ। विभागसँग समन्वय गरेर पहिरो हटाउने प्रयास पनि गरिहरका छौँ,’ एसपी खड्काले भनिन्, ‘तर, दसैँको बेला त्यहाँ जेसीभी लिएर जान पनि समस्या छ। सबै चाडपर्वको माहोलमा छन्। डोजर र जेसीभीका चालक पनि चाडपर्व मनाउन घर गएका होलान्। तर, हामी पहिरो हटाउने कोसिस भने जारी राखेका छौँ।’ 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले पनि बीपी राजमार्ग भएर काठमाडौँको यात्रा नगर्न चालक र यात्रुलाई आग्रह गरिएको बताए। 

‘बीपी राजमार्गको सिन्धुली खण्डमा कुनै अवरोध छैन। तर, काभ्रेमा अवरुद्ध भएकाले काठमाडौँ जान सकने अवस्था रहेन,’ एसपी काफ्लेले नेपालखबरसँग भने, ‘सिन्धुली खण्डको मुल्कोट, नेपालथोकमा सडक खुला भए पनि काभ्रेतिर अवरुद्ध छ।’  

उनले काभ्रेको रोशी हुँदै काठमाडौँ हिँडेका गाडीलाई मदन भण्डारी राजमार्ग प्रयोग गर्न सूचना गरिएको बताए। ‘मुलकोटबाट रामेछाप निस्केर त्यताबाट काठमाडौँ निस्कन सकिन्छ,’ एसपी काफ्लेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad