ad ad

समाज


स्वास्थ्य बिमा सुधारका लागि डा शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति

स्वास्थ्य बिमा सुधारका लागि डा शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति

नेपालखबर
असोज १३, २०८१ आइतबार १३:३४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेका हुन्। 

समितिमा विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइराला सदस्य छन्। 

यसैगरी, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन्।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समितिको सदस्य तोकिएको छ। 

समितिलाई विद्यमान स्वास्थ्य बिमाको कानुनी अवस्था, सेवाप्रवाहलगायत विषयका सबल र दुर्बल पक्षबारे विश्लेषणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ।

यसैगरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुने गरी स्वास्थ्य बिमा कार्यक्रममार्फत लैजाने उपा सुझाउन पनि भनिएको छ।

समितिले स्वास्थ्य बिमा कार्यक्रममा सबै नेपाली नागरिक आबद्धता गराउन सम्भाव्य उपायबारे पनि सुझाव दिनुपर्ने कार्यादेश तोकिएको छ।

विश्व स्वास्थ्य संगठनको जेनेभास्थित रणनीति र सहयोग एकाइको महानिर्देशक रहिसकेका संयोजक आचार्यसँग संगठनमा विभिन्न भूमिकामा तीन दशक बढी काम गरिसकेको अनुभव छ। उनी हालै मात्र नेपालका तर्फबाट विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा उम्मेदवार भएका थिए।

उनले जनस्वास्थ्य सुधारका लागि विभिन्न देशहरूलाई सुझाव तथा परामर्श प्रदान गरेका छन्। उनको अनुभव देशको स्वास्थ्य बिमा सुधारका लागि उपयोगी हुने अपेक्षा गरिएको मन्त्री पौडेलले बताए। 

‘स्वास्थ्य बिमामा सुधार गरेर आम नागरिकको पहुँचमा ल्याउने हाम्रो प्रमुख उद्देश्य हो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बिमामा सबै नागरिकलाई जोड्ने गरी समस्या समाधानसहितको सुझावलाई कार्यान्वयनमा लैजानेछौँ।’ 

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बिमाको रकम ५ लाखसम्म पुर्‍याउने घोषणा गरेका थिए। बिमा सुधारका स्रोत थप्न सकिने उनको भनाइ छ। सोहीअनुसार विज्ञहरूको सुझाव लिन भन्दै मन्त्री पौडेलले समिति गठन गरेका हुन्। 

यसैबीच, आइतबार समितिको पहिलो बैठक बसेको छ। आफूहरूले स्वास्थ्य बिमाका अन्तर्राष्ट्रिय अभ्यासहरूको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरूबारे बुझेर सुझाव दिने संयोजक आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .