ad ad

समाज


यूएईबाट डिपोट भएका दुई चिनियाँको नेपालमा कल सेन्टर, डेटिङ एपमार्फत ठगी, क्रिप्टोमा लगानी

यूएईबाट डिपोट भएका दुई चिनियाँको नेपालमा कल सेन्टर, डेटिङ एपमार्फत ठगी, क्रिप्टोमा लगानी

उजिर कार्की
भदौ २९, २०८१ शनिबार १०:२१, काठमाडौँ

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ललितपुरबाट पक्राउ परेका चिनियाँ नागरिक यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) बाट डिपोट भएको खुलेको छ।

यूएईको दुबईमा पनि उनीहरू यस्तो अवैध कारोबार गरेको आरोपमा पक्राउ परेको र युएई सरकारले डिपोट गरिदिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

दुबईबाट आआफ्नो देश डिपोट भएकाहरू पुनः नेपालमा जुटेको र पुरानै कारोबार सञ्चालन गरेको पाइएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

बुधबार राति सीआईबीले छापा मारेर ललितपुर महानगरपालिका-१३, एकान्तकुनाको एकताबस्तीस्थित उनीहरूको कार्यालयबाट तीन जना विदेशीसहित ५० जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका मुख्य व्यक्तिहरू यसअघि पनि यस्तै कारोबारमा दुबईमा कारबाही भोगिसकेकाहरू रहेको सीआईबीले जनाएको छ। 

एकताबस्तीमा जगदीश उपाध्यायको तीन तले घर साढे तीन लाख रूपैयाँ मासिक तिर्ने गरी भाडामा लिएर दुई चिनियाँ र एक जना फिलिपिन्सका नागरिकको संलग्नतामा क्रिप्टोको कारोबार गरेको खुलेको छ।

उनीहरूले असार १७ गतेदेखि घर भाडामा लिएका थिए। उक्त घरमा कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई काममा लगाएको पाइन्छ। सीआईबीले राति काम गरिरहेका सबै कर्मचारीलाई नियन्त्रणमा लिए पनि हाल छाडिसकेको छ। 

त्यहाँ उनीहरूले राति ९ बजेदेखि बिहान ५ बजेसम्म काम गर्ने र दिउँसो कार्यालय बन्द गर्ने गरेका थिए। 

अवैधरूपमा काम गर्न कार्यालय नै भाडामा लिएको सूचना पाएपछि सीआईबीले छापा मारेको थियो। कल सेन्टरमा प्रयोग गरेका कम्प्युटर, मोबाइल लगायतका विद्युतीय उपकरणहरू सीआईबीले नियन्त्रणमा लिएको छ। 

डेटिङ एपमार्फत ठगी
कल सेन्टरमा उनीहरूले विभिन्न नामका डेटिङ एप सञ्चालन गरेर ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको प्रारम्भिक अनुसन्धानमा हिङ्गी, बम्बल, मुस्लिमा, इन्शाहा, सालम, मुज, ओकुपिड, अलखाताबाजस्ता नाम राखिएका डेटिङ एपहरू ठगीका निम्ति प्रयोगमा ल्याएको पाइएको छ। प्रोफाइलमा विदेशी महिलाको फोटो प्रयोग गरिएका थिए।

युरोप, अमेरिका, क्यानडालगायत विभिन्न देशमा रहेका पुरुषलाई साथी बनाएर सुरुमा घनिष्ट मित्रता कायम गर्ने र अनलाइन प्लेटफर्ममार्फत बिनान्स, ट्रस्ट वालेटहरूमा अमेरिकी डलर जम्मा गर्न लगाई ठग्ने गरिएको प्रहरीको भनाइ छ। यसरी जम्मा गराएको रकम गैरकानुनी क्रिप्टो करेन्सीमा लगानी गर्ने र उनीहरूले पनि कारोबार गर्ने गरेको एसपी बोगटीले बताए। 

प्रारम्भिक अनुसन्धानपछि सीआईबीले ८ जनाविरुद्ध मात्रै अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ।मुलुकी अपराध संहिता, २०७४ मा उल्लिखित अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर अन्तर्गत ललितपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ। ४२ जनालाई हाजिर जमानीमा राखिएको छ।

हिरासतमा ८ जना 
सीआईबीले सुरुमा ५० जनालाई पक्राउ गरे पनि हिरासतमा भने ८ जनालाई मात्र राखेको छ। उक्त कार्यालयका सञ्चालक दुई चिनियाँ हुन्। 
चिनियाँ नागरिक दिङ जिअहोङ र लिन किङजिन सञ्चालक रहेको पाइएको छ।

यस्तै फिलिपिन्सकी हनिपा सिन्सुअत पनि पक्राउ परेकी छन्। उनी भाषा सहयोगी एवं अनुवादक हुन्। 

अरु ५ जना नेपाली हिरासतमा छन्। कम्पनीका ग्रुप लिडरहरु रौतहटको चपुर नगरपालिका-८ का कमल कँडेल, इलाम सूर्योदय नगरपालिका-१३ का सन्दीप आचार्य, झापाको कमल गाउँपालिका-३ का सुजन प्रधान र सुनसरीको इटहरी उपमहानगरपालिका-२ का विजयबहादुर गिरी हिरासतमा छन्। 

यस्तै नवलपरासीको बर्दघाट नगरपालिका-१३ का सुदीप अधिकारी पनि पक्राउ परेका छन्। अधिकारीले उक्त कार्यालयका लागि घर भाडा सम्झौता गरेको पाइएको छ। 

कार्यालयबाट प्रहरीले ५५ डेस्कटप कम्प्युटर, ४ ल्यापटप र १९४ वटा मोबाइल बरामद गरेको छ। 

विभिन्न देशका मुद्रा पनि बरामद भएको छ। थाइ भाट ५६ हजार ६००, अमेरिकी डलर १२३, तान्जानाइन सिलिङ १० हजार, चिनिया यान १००, युएई दिराम ७९५, टर्किस लिरा १७० र नेपाली रुपैयाँ १ लाख ६२ हजार ५ सय बरामद भएको सीआईबीले जानकारी दिएको छ। 

यसअघि पनि विभिन्न स्थानबाट कल सेन्टरका नाममा अवैध कारोबार गरिरहेका विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .