कृषि फर्मका लागि सस्तो ब्याजदरमा कर्जा मिलाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ दुर्गानगर कोलोनी बस्ने वर्ष ५५ को नारायण प्रसाद खतिवडा रहेका छन्।
खतिवडाले जाहेरवालासँग भेटघाट गरी आफूले ‘विष्णु एन्ड सोनु प्रालि’का संचालक विष्णु बहादुर कार्कीलाई चिनेको छु, उहाँले तपाईंको कृषि फर्मको नाममा यूएसए बाट १० लाख ९९ हजार ८९८ डलर (नेपाली रु १४ करोड ५१ लाख ९८ हजार ५४८ रुपैयाँ) २.५ प्रतिशत ब्याजदर लाग्ने गरी कर्जा मिलाउन सक्नु हुन्छ भनि विष्णु बहादुर कार्कीसँग मिली ठगीको उद्देश्य राखी विभिन्न कागजात तयार पारेका थिए।
त्यसपछि जाहेरवालासँग ग्यारेन्टी राख्न कृषि फर्मको नाममा रहेको कुमारी बैंकको चेक विष्णु बहादुर कार्कीको नाममा काट्न भनी विभिन्न मितिमा पटक पटक गरी रु १७ लाख ३१ हजार रुपैयाँ रकम विष्णु बहादुर कार्कीलाई बुझ्न लगाई ठगी गरी फरार रहेको प्रहरीको आरोप छ।
खतिवडालाई खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भदौ २८ गते भद्रकालीबाट पक्राउ गरेको जनाएको छ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।
Shares

प्रतिक्रिया