ad ad

समाज


कोरोना भाइरसबाट जोगिन सरकार र नागरिकले गर्नुपर्ने १० काम

कोरोना भाइरसबाट जोगिन सरकार र नागरिकले गर्नुपर्ने १० काम

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १६:२५,

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण करिब तीन महिनामा संसारभर पुगिसकेको छ। यो भाइरसबाट हालसम्म ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या करिब एक लाख पुगेको छ। मृतकमध्ये धेरै चीनका छन्। तथापि पछिल्लो दुई सातामा अनेकौँ मुलुकमा मानिसको मृत्यु हुन थालेको छ।

एसियामा दक्षिण कोरिया, जापान र इरान, युरोपमा इटली, जर्मनी तथा अमेरिकामा पनि संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ।

भाइरस नियन्त्रणका लागि मुलुकहरुले अनेकौँ उपाय लगाएका छन्। गत तीन महिनाको अनुभवलाई हेर्दा सरकार र आम नागरिकले भाइरस नियन्त्रणका लागि निम्न उपाय अपनाउन सक्छन्ः

सूचना नलुकाऔँ
सरकारले भाइरससम्बन्धी सूचना पारदर्शी तरिकाले दिएमा संक्रमण नियन्त्रणमा सघाउ पुग्छ। वास्तविक जोखिम आम नागरिकलाई दिइए गलत सूचना तथा हौवा सिर्जना हुन दिँदैन।

उदाहरणका लागि सिंगापुरले हरेक दिन वास्तविक स्थितिबारे जानकारी गराउने गर्छ। संक्रमणबाट बच्न के गर्ने, संक्रमितले के गर्ने जस्ता जानकारी विभिन्न मुलुकले आम मानिसलाई बुझाउन सञ्चारमाध्यममार्फत प्रचार गरिरहेका छन्।

तयारी गरौँ
भाइरस प्रकोप सुरु नभइसकेपनि सम्बन्धित अधिकारीहरुले त्यसको तयारी सुरु गरे सजिलो हुन्छ।

जनवरीमा प्रकोप आउने निश्चित भएसँगै विभिन्न एसियाली मुलुकले तयारीलाई तीव्र बनाएका थिए। क्वारेन्टाइन सेन्टर, औषधोपचारका सामग्रीको आपूर्ति जस्ता व्यवस्था गरिसकेका छन्। सरकारकै विभिन्न मन्त्रालय र विभागबीच अन्तरविभागीय संयन्त्रहरु बनाइको थियो।

ताइवानले प्रकोप एक हजार शय्याको अस्पताल समेत बनाएको थियो। चीनपछि सबैभन्दा सुरुमा भाइरस फेला परेको थाइल्यान्डमा तापक्रम मापनको व्यवस्था गरिएको थियो। त्यसलाई हाल बेलायत र अमेरिकाले पनि पछ्याएका छन्।

हाल अमेरिकाको सान फ्रान्सिस्को सहरले आपतकाल घोषणा गरेको छ। न्युयोर्क सरहले पनि संक्रमण हुने चिन्ताले हप्तौँअघिदेखि तयारी गरेको थियो। जहाँ अहिले कम्तीमा १२ सय शय्या तयार अवस्थामा राखिएको छ।

एकअर्कासँग दूरी कायम गरौँ
जब मानिस एकअर्कासँग शारीरिक रुपले नजिक हुन्छन्, भाइरस छिटो फैलिन्छ। त्यसैले भाइरस रोक्न सरकारले चाल्नसक्ने सबैभन्दा प्रभावशाली कदम भनेको मानिसहरुलाई अलगअलग राख्ने नै हो।
आम नागरिकले यसतर्फ सचेतना अपनाउन जरुरी छ।

यसैका लागि विश्वभरका कोरोना प्रभावित मुलुकले स्कुल, सिनेमा हल, सार्वजनिक, यातायात, भेला, खेलकुद समारोह, स्विमिङ पुल, बन्द गराउने, चाडबाडमा भेला हुन प्रतिबन्ध लगाउने, आदि गरेका छन्। त्यस्तै मानिसहरुलाई घरबाट काम गर्न प्रेरित गरिएको छ।

चीनमा आधा जनसंख्या अर्थात् झण्डै ७८ करोड मानिसलाई यातायतमा प्रतिबन्ध लगाइएको थियो।

युरोपमा पनि यस्तै उपाय अपनाउन थालिएको छ। इटली र फ्रान्सका केही क्षेत्रले स्कुल बन्द गरेका छन्।

बेलैमा परीक्षण गराऔँ
संक्रमणको शंका लागे बेलैमा परीक्षण गराउँदा भारइसबाट उत्पन्न हुने जटिलताबाट बच्न सकिन्छ। सरकारले सुलभ परीक्षणको व्यवस्था गर्न सक्छ। यसले भाइरस बेलैमा पहिचान भई फैलिनबाट रोक्न मद्दत गर्छ।

यस्तो विधि अपनाउन सफल मुलुक हो दक्षिण कोरिया। त्यहाँको स्वास्थ्य मन्त्रालयले एउटा स्मार्टफोन एप नै बनाएको छ। जसले नागरिकहरुलाई दैनिक आफ्नो लक्षण परीक्षण गर्ने र शंकास्पद देखिए स्वास्थ्य अधिकारीहरुलाई सूचित गर्ने गर्दछ। गोयाङ सहरमा ड्राइभ थ्रु परीक्षण केन्द्र खोलिएको छ। जहाँ मानिस गाडीबाट पार हुँदाहुँदै केही मिनेटभित्रै कोरोना परीक्षण गराउन सक्छन्। यसले परीक्षणलाई सहज बनाएको छ। यसले भाइरस नियन्त्रणमा ठूलो सघाउ पु¥याएको छ।

सरसफाइमा ध्यान दिऔँ
भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो, साबुन पानीले नियमित हात धुने, हाँच्छ्युँ गर्दा र खोक्दा नाक र मुख छोप्ने, हातले बारम्बार आँखा, नाक मुख छुने बानी छोड्ने र जे पायो त्यही चीज नछुने। यसका लागि एसियाली मुलुकहरुले सामाजिक सचेतना कार्यक्रम नै सुरु गरेका छन्।

हङकङमा मानिसहरु घरबाहिर निस्किँदा पञ्जा लगाउन थालेका छन्। घर, अफिसका ढोका, लिफ्टको बटनजस्ता धेरै मानिसले बारम्बार छुने ठाउँको नियमित सफाइ गरिन्छ। सञ्चालनमा रहेका स्कुलमा पनि विद्यार्थीलाई हात धुन लगाउनेजस्ता काम भएका छन्।

बजार रित्तो हुनेगरी किनमेल नगरौँ
प्रकोपका डरले संसारभरी मानिसहरु अत्यावश्यक वस्तु किनेर घरमा थुपारिरहेका छन्। नेपालमै पनि पछिल्ला केही दिनमा मास्कलगायतका सामग्री अभाव हुन थालेका छन्। यसले कालाबजारीहरुलाई मात्र फाइदा गर्छ।

यस्तै समस्या हङकङमा पनि देखिएको छ। सरकारले सामान अभाव हुन नदिने बताएपनि खुल्नेबित्तिकै सुपरमार्केट खाली हुने गरेका छन्। थुप्रै मुलुकमा यसैकारण ट्वाइलेट पेपर अभाव भएको छ। तर, यसले थप समस्या सिर्जना गर्छ।

पाल्तु जन्तुबाट नडराऔँ
गत साता हङकङमा एउटा पाल्तु कुकुरमा पनि कोरोनाको संक्रमण देखियो। त्यसपछि पाल्तु जनावरबाट पनि कोरोना सर्छ कि भन्ने भय व्याप्त भयो। कतिपयले कुकुर, बिरालोलाई पनि मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे। तर, विज्ञहरुका अनुसार पाल्तु जनावरबाट कोरोना सर्दैन।

घृणा र विभेद नगरौँ
अहिले विश्वलाई भाइरसजत्तिकै खतरनाक चीजले आक्रान्त पारेको छ। त्यो हो, घृणा र विभेद। एसियाली मूलका कतिपय व्यक्तिहरु पश्चिमा मुलुकमा दुर्व्यवहारमा परेका छन्। उनीहरुमाथि आक्रमण समेत भएको छ। यस्तो व्यवहारले भाइरस रोकथाम गर्न सघाउँदैन, मात्र जातीय, नश्लीय विभेद चर्काउँछ।

घरबाटै काम गर्ने वातावरण मिलाऔँ
यसबेला एसियाका दशौँ लाख मानिस घरबाटै काम गरिरहेका छन्। थुप्रै विश्वप्रसिद्ध कम्पनीले कर्मचारीलाई घरबाटै काम गर्ने अनुमति दिएका छन्। अफिस बन्द गरिएका छन्।

नआत्तिऔँ
भाइरस प्रकोपका लागि सरकार र नागरिक तम्तयार रहनुपर्छ। तर, त्यसको अर्थ आत्तिनुपर्छ भनेको होइन। कोरोनाको मृत्युदर २ प्रतिशतभन्दा केही माथि मात्र छ।

खासगरी पाका मानिसहरु यसबाट मृत्युको मुखमा पुग्ने गरेका छन्। यो सार्स, मर्सजस्ता भाइरसको तुलनामा निकै कम हो। धेरैजसो मानिसका लागि यो रुघामर्की सरह मात्र हो। त्यसैले यसबाट धेरै आत्तिनुभन्दा राम्रो तयारी र संक्रमण भइहाले उपचारमा ध्यान दिनु उचित हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .