ad ad

समाज


सुनकोसीमा तीनजना साथी गुमाएका सुशान्तले भने– म मात्रै कसरी बाँचे थाहा छैन (भिडिओ)

सुनकोसीमा तीनजना साथी गुमाएका सुशान्तले भने– म मात्रै कसरी बाँचे थाहा छैन (भिडिओ)

नेपालखबर
भदौ ८, २०८१ शनिबार २२:४४, काठमाडौँ

खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा शनिबार साँझ एउटा हाइलक्स गाडी खस्यो। 

गाडीमा चारजना सवार थिए। उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका हुन्। चारैजना साथीहरू हुन्।

सँगै गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटनामा बाँचे। अन्य तीनजना बेपत्ता छन्। प्रहरी अधिकारीहरूले खोजी कार्य जारी राखेको छ। 

३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता भएका हुन्। दुर्घटनामा परेर बाँचेका सुशान्त सँगै गाडीमा आएका साथीहरू नदीमा बिलाउँदा खोलाबाट निस्किए। 

उनलाई आफू कसरी निस्किएँ र साथीहरू कहाँ पुगे भन्ने याद छैन। सुनकोसी नदीबाट बाहिर निस्किएपछि केहीबेर उनी बोल्न नसक्ने भएका थिए। 

त्यहाँ उपस्थित सर्वसाधरणले उनलाई कति जना सवार थिए, कहाँबाट आएको? कसरी यस्तो भयो? लगायतका प्रश्न गरिरहे। तर, उनी केहीबेर आफन्तलाई फोन लगाइदिन मात्रै आग्रह गरिएको भिडिओमा देखिन्छ। 

दुर्घटनास्थलबाट स्थानीय गणेश खड्काले सामाजिक सञ्जालमा राखेको भिडिओमा घाइते सुशान्त फोनमा कोही मान्छेसँग बोलिरहेका छन्। 

उनले ‘अंकल’ सम्बोधन गर्दै फोनमा भनेका छन्, ‘म मात्रै निस्केँ। कसरी निस्केँ मलाई थाहा छैन। कोही निस्किएन। मान्छेहरू आइसके। पुलिसलाई फोन गरिसके।’

लगत्तै, फोनमा सुशान्तलाई केही प्रश्न आउँछ। तर, उनले जवाफ दिन सकेनन्। भने, ‘थाहा छैन अंकल, मलाई थाहा छैन।’

साथीहरू गुमाएका उनी दुर्घटना सम्झँदै निकैबेर भावविह्वल बनेका छन्। 

उनले फोनमा कसैलाई आग्रह गर्दै भनेका छन्, ‘उनीहरूलाई भन न सबैलाई खबर गर्देऊ।’

प्रहरीका अनुसार, सुशान्त सामान्य घाइते छन्। उनको प्राथमिक उपचार गराइएको छ। अन्य तीनजनाको भने गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ। 

गाडी भेटिए पनि प्रहरीले बेपत्ता तीनजनालाई भेट्टाउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .