समाज


इन्जिनियर्स एसोसिएसनको निर्वाचन : दलगत प्यानल, एकमुस्ट बुझाइयो खर्च

इन्जिनियर्स एसोसिएसनको निर्वाचन : दलगत प्यानल, एकमुस्ट बुझाइयो खर्च

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १८:३, काठमाडौँ

इन्जिनियरहरूको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन आगामी भदौ २८ गते हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार, गत साउन १८ गतेभित्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन्।

अध्यक्षका लागि ६ जना विभिन्न दलनिकट संस्थाले आ–आफ्नो प्यानल नै खडा गरेका छन्। 

कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) बाट सुवासचन्द्र बराल, एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पिन) बाट विष्णुप्रसाद पाण्डे, माओवादी केन्द्र पक्षधर नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन) बाट दीपेश श्रेष्ठ, एकीकृत समावादीको समाजवादी निकट इन्जिनियरिङ नेपाल (सिन) बाट नन्द बन्जाडे, नेमकिपा निकट इन्जिनियर समाज नेपालबाट राजेन्द्रप्रसाद हाडाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। 

उम्मेदवारहरूका लागि साउन २६ गतेसम्म दाबी विरोधको समय उपलब्ध गराइएको छ। तर, इसोसियसनको निर्वाचन प्रक्रियाबारे संगठनभित्रबाटै प्रश्न उठ्न थालेको छ। 

नेपाल इन्जिनियर्स एसोसियसन, जिल्ला प्रसासन कार्यालय काठमाडौँमा दर्ता भएको गैर सरकारी तथा गैर राजनीतिक संस्थाको रुपमा दर्ता भएको थियो। पछि विधानकोे उद्देश्यमा पनि ‘मुनाफा रहित एवं गैर राजनितिक एक संस्था’ उल्लेख गरिएको छ।

गैर राजनीतिक संस्थालाई दलगत रुपमा विभाजित भएर उम्मेदवारी दर्ता गराउनु आफैँमा अवैधानिक भएको संस्थाका एक पदाधिकारी बताउँछन्। 

‘६२ वर्षअघि स्थापना भएको यो सबैभन्दा पूरानो पेशागत संस्था हो,’ ती सदस्यले भने, ‘यसरी खुलमखुल्ला राजनीतिक दृश्य देखिनु संस्थाको गरिमामाथि प्रश्न उठ्ने विषय हो।’

मान्यता प्राप्त इन्जिनियरिङ परिषद्‌बाट लाइसेन्स प्राप्त इन्जिनियरहरू मात्रै यस संस्थाको सदस्य हुन पाउने प्रावधान छ।

त्यस्तै, निर्वाचन कार्यविधि अन्तर्गत उम्मेदवारले पालना गर्नुपर्ने नियममा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि  १० हजार, सहकोषाध्यक्षका लागि ७ हजार र सदस्यका लागि ५ हजार शुल्क तोकिएको छ। 

तर, यी संस्थाहरूले एकमुष्ट रुपमा उम्मेदवारी दर्ता गर्दा लाग्ने दस्तुर बुझाएको देखिन्छ। 

उक्त नियममा भने प्रत्येक उम्मेदवारले आफूले मनोनयन गरेको पदको प्रतिव्यक्ति लाग्ने शुल्क जम्मा गरेको रकमको भौचरसहित संलग्न गरी उम्मेदवारको मनोनयन पेस गर्नुपर्ने उल्लेख छ। 

तर, प्रत्येक संस्थाले आफू निकट संस्थाबाट एकमुष्ट रुपमा निर्वाचनमा लाग्ने खर्च एशोसियसनलाई बुझाइएको देखिन्छ।

प्राप्त विवरण अनुसार, एमाले निकट पिनले १ लाख २६ हजार, माओवादी निकट नियोनले १ लाख २६ हजार कांग्रेस निकट सिडेनले १ लाख १७ हजार एकीकृत समाजवादी निकट सिनले १ लाख १७ हजार र नेमकिपा निकट इन्जिनियर समाजले ४६ हजार गत साउन १८ गते बुझाएका छन्।

जुन प्रक्रिया उम्मेदवारले पालना गर्नुपर्ने नियमभन्दा विपरित भएको एशोसियसनका ती सदस्य बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad