समाज


काठमाडौँबाट एक सहकारीका सचिव, कोषाध्यक्ष र व्यवस्थापक पक्राउ

बचत कर्ताको रकम हिनामिना गरेको आरोप
काठमाडौँबाट एक सहकारीका सचिव, कोषाध्यक्ष र व्यवस्थापक पक्राउ

नेपालखबर
साउन २३, २०८१ बुधबार ५:५०, काठमाडौँ

काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन्। 

सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ। 

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन्। पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीले जानकारी दिएको छ।

उनीहरुले आकर्षक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाएका तर बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडितहरु ब्युरोमा पुगेका थिए।

प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। 

उनीहरुलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि काठमाडौँ महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय र सहकारी विभागबाट समेत प्रहरीलाई पत्राचार भएको उनले बताए।

सोही आधारमा खोजी गरी सोमबार पक्राउ परेका उनीहरुमाथि आज सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको पनि बोगटीले बताए।

ब्युरोले आजै एक सूचना जारी गरी उक्त सहकारीबाट ठगीमा परेका अन्य बचतकर्ताहरुलाई पनि सम्पर्कमा आएर हिनामिना भएको रकमसहित निवेदन दिन अनुरोध पनि गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad