ad ad

समाज


एकै पटक २२ एसएसपी डीआईजीमा बढुवा हुँदै, यी हुन् ३४ प्रतिस्पर्धी

एकै पटक २२ एसएसपी डीआईजीमा बढुवा हुँदै, यी हुन् ३४ प्रतिस्पर्धी

उजिर कार्की
फागुन १८, २०७६ आइतबार १३:५०,

नेपाल प्रहरीमा एकै पटक २२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुने भएका छन्। एकै पटक डीआईजीमा बढुवा हुने यो हालसम्मकै ठूलो संख्या हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै १८ डीआईजीले पनि अनिवार्य अवकाश पाएका थिए। त्यस्तै, तीन जना डीआईजी एआईजीमा बढुवा भएका छन्।

डीआईजी नै रहेका ठाकुर ज्ञवाली आईजीपी बनेपछि प्रहरीमा रिक्त डीआईजीको संख्या २२ पुगेको हो।

प्रहरीमा ३४ जना डीआईजीको दरबन्दी रहेपनि हाल निरज शाही, प्रद्युम्न कार्की, सूर्य उपध्याय र विश्वराज पोख्रेलगरी चार जना मात्र छन्।

रिक्त २२ डीआईजीका लागि ३४ एसएसपीको दौडधुप सुरु भइसकेको छ। सरकारले माघ २८ गते प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवाली र तीन अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेसँगै डीआईजीको लागि दौडधुप सुरु भएको हो।

एसएसपीमा ७९ को दरबन्दीमध्ये ७० जना मात्र कार्यरत छन्। तर एउटै विज्ञापनबाट दुई फरक मितिमा भर्ना भएका र एसएसपीमा फेरि मिसिएका ३४ जनालाई डीआईजीका प्रमुख दाबेदार मानिएको छ।

२०७४ साउन १९ गते एसएसपीमा बढुवा भएकामध्ये १७ जना र २०७५ जेठ ३ गते एसएसपी भएका १७ जना प्रतिस्पर्धामा छन्। उनीहरु सबै एउटै विज्ञापनमा प्रहरी निरीक्षक भएपनि फरक फरक समयमा नियुक्ति पाएका हुन्।

घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्त कुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार र रवीन्द्रबहादुर धानुक २०७४ साउनमा एसएसपी भएका थिए।

त्यस्तै, २०७५ जेठमा सहकुलबहादुर थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खां, किशोर कुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ बढुवा भएका थिए।

डीआईजीका दाबेदारमध्ये पूजा सिंह एक मात्र महिला हुन्।

६ जनाको मिचियो पालो
२०४९ वैशाख १९ गते पहिलो नम्बरमा शैलेश थापा नियुक्त भएको बेला ६० जना प्रहरी निरीक्षकमा भर्ना भएका थिए। बाँकी ४० जना वैकल्पिकको सूचीमा थिए। उनीहरुलाई शेरबहादुर देउवा गृहमन्त्री भएको बेला २०४९ चैत २९ गते नियुक्त गरिएको थियो।

तर, वैकल्पिकमा नाम निस्किएकाहरुलाई पनि कार्यसम्पादनलाई आधार मान्दै अगाडि ल्याउने गरिएको छ। एसएसपीमा आइपुग्दा वैकल्पिकमा भर्ना भएका ६ जनाले झण्डै एक वर्ष पहिले नियुक्त ६ जनालाई उछिनिसकेका छन्। वैकल्पिकतर्फबाट नियुक्त भएका विश्वराज पोख्रेल गएको वैशाख २ गते नै डीआईजी भइसकेका छन्।

पोख्रेलसँगै धिरजप्रताव सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, र रवीन्द्रबहादुर धानुक एसपीबाट अगाडि लागेका हुन्। उनीहरु एआईजीमा सिफारिस शैलेश थापा र हरिबहादुर पालसँगै एसएसपीमा बढुवा भएका थिए।

तर नियमित प्रक्रियाबाट भर्ना भएका प्रकाश अधिकारी, देवबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ पछि परे। उनीहरुले २०७५ जेठ ३ गते सहकुलबहादुर थापा पहिलो नम्बरमा बढुवा हुँदा मात्रै एसएसपीको फुली लाउन पाए।

२०७४ साउन १९ गते एसएसपीमा बढुवा भएका मध्ये पहिलो नम्बरका शैलेश थापा र चौथो नम्बरका हरिबहादुर पाल एआईजी भइसकेका छन्। उनीहरुसँगै डीआईजीमा निरज बहादुर शाही र प्रद्युम्नकुमार कार्की बढुवा भएका थिए। पाँचौं नम्बरका वीरेन्द्र श्रेष्ठ र १२ औं नम्बरका संजयराज शर्माले अवकाश पाइसकेका छन्। एसएसपीमा ९ औं नम्बरमा बढुवा भएका विश्वराज पोख्रेल पनि गत जेठमा डीआईजी भएका छन्।

चौथो नम्बरमा प्रहरी निरीक्षकमा भर्ना भएका उमेश रन्जितकार डीएसपी हुँदा तीन वर्ष पछि परे। सँगै भर्ना भएका भन्दा २ वर्षपछि एसपी भएका रन्जितकारले २०७४ मा पुनरागमन गर्दै एसएसपीको फुली लाए।

तर प्रकाश अधिकारी र विक्रम बहादुर चन्दलाई राम्रो कामका बाबजूद पछाडि पारिएको उनकै ब्याची बताउँछन्।

 एआईजी बढुवाका लागि तीन जनालाई सिफारिस गरिएको छ। केही दिनभित्रै एआईजीमा पदस्थापना भइसक्ने र त्यसपछि डीआईजी बढुवाका लागि सिफारिस गर्ने तयारी रहेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए।

प्रहरी नियमावली २०७१ को नियम २७ (१) (ख) अनुसार गृह मन्त्रालयका सचिवको अध्यक्षतामा हुने डीआईजी बढुवा समितिमा आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य सचिव हुन्छन्।समितिको सिफारिस पछि मन्त्रिपरिषद्ले बढुवाको निर्णय गर्छ।

प्रहरी नियमावली अनुसार कार्यसम्पादनमा ४०, जेष्ठताका आधारमा २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव ८, शैक्षिक योग्यतावापत १०, तालिम ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीवापत ५, विभूषण मानपदवी, अलंकार र पदकवापत २ र बढुवा समितिले ७.५ अंक दिन पाउने व्यवस्था छ।

तर, प्रहरी बढुवामा राजनीतिक हस्तक्षेपका कारण यस्तो अंक पनि तलमाथि हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .