ad ad

समाज


अन्ततः प्रधानसेनापति बन्ने भए अशोकराज सिग्देल, कमान्ड यही महिनाबाटै सम्हाल्ने

अन्ततः प्रधानसेनापति बन्ने भए अशोकराज सिग्देल, कमान्ड यही महिनाबाटै सम्हाल्ने

उजिर कार्की
साउन ३, २०८१ बिहिबार २२:३५, काठमाडौँ

जन्ममिति विवादमा मुछिएका नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने भएका छन्। भदौ २५ मा प्रधानसेनापति बन्ने उनले सेनाको कमान्ड भने साउनबाटै सम्हाल्ने छन्। 

प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ गतेदेखि बिदामा बस्ने भएकाले सिग्देलले कामु प्रधानसेनापतिको जिम्मा पाउने भएका हुन्। 

नेपाली सेनामा अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमान्ड बरबुजारथ गर्ने चलन छ। प्रभुराम शर्माले सिग्देललाई नै जिम्मेवारी हस्तान्तरण गर्ने निश्चित छ। बलाध्यक्ष रथी निर्मलकुमार थापा हाल शान्ति मिसनमा सिरियामा फोर्स कमान्डर छन्। 

सिरियामै रहेका थापाको दुई वर्षे कार्यकाल अझै तीन महिना बाँकी छ। नेपालमा  कमान्ड हस्तान्तरण हुँदा पनि उनी आउने सम्भावना कम रहेको जंगी अड्डा स्रोतले जानकारी दिएको छ।

नेपाली सेनामा बलाधिकृत रथीलाई नै प्रधानसेनापति बनाउने चलन छ। सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन्। 

प्रधानसेनापतिको लाइनमा रहेका ताराध्वज पाण्डेले राजीनामा दिएपछि उनी गएको मंसिरमा रथीमा बढुवा भएका थिए। शैक्षिक प्रमाण पत्रको विवादमा परेपछि पाण्डेले राजीनामा दिएका थिए। 

छानिबिन सुरु भएर कैफियत भेटिएपछि कारबाहीमा पर्नुअघि नै राजीनामा दिएर पाण्डे हिँडेसँगै सिग्देललाई सेनाप्रमुख बन्ने बाटो खुलेको हो। 

सिग्देलले आफ्नो व्यावसायिक सैन्य शिक्षा नेपाल र विदेशमा लिएका थिए। उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेनिल डिफेन्स युनिभर्सिटीबाट स्नातक गरेका छन्।

यसका साथै उनले नेपालको आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन्।

३७ वर्षे सैनिक सेवामा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ। 

उनले काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा काम गरेका छन्। त्यस्तै, बाहिनी र पृतनापतिको रूपमा काम गरिसकेका छन्। यसका अतिरिक्त, उनले सैन्य सञ्चालन निर्देशनालयको निर्देशक र कर्मचारी कर्तव्य, नीति र योजना विभागको महानिर्देशकको रूपमा काम गरे। यसबाहेक उनी प्रधानसेनापतिको सैनिक सहायकको पदमा पनि थिए।

सिग्देलले २०२२ मा अमेरिका–नेपाल तेस्रो ‘ल्यान्ड फोर्स टक’का लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए। यस्तै कोभिड–१९ महामारीमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सचिवको रूपमा काम गरे। 

कोभिड–१९ महामारी नियन्त्रणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै उनलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो। 

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा शान्ति सेनाको रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता देशमा काम गरेको अनुभव उनीसँग छ। 

जन्ममिति विवादले रोकेन सेनापति बन्न 
ताराध्वज पाण्डेले राजीनामा दिएपछि सेनापति बन्ने भाग्य खुलेका सिग्देलको पनि कागजातमा प्रश्न उठाइएको थियो। तर सेनाले उनको कागजातमा कुनै समस्या नरहेको भन्दै बचाउ गरेपछि उनलाई सेनापति बन्ने बाटो सहज भएको हो। 

नेपाली सेनाले बलाधिकृत रथी सिग्देलका कागजातमा कुनै कैफियत नरहेको दोहोर्‍याएको छ। सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बिहीबार जंगी अड्डामा भएको पत्रकार सम्मेलनमा सिग्देलको जन्ममितिमा कुनै समस्या नरहेको दाबी गरेका हुन्। 

सिग्देलका शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक जन्ममिति रहेको तथा नागरिकताको प्रतिलिपि लिँदा पनि उमेर सच्याइएको भन्दै संसदसम्म प्रश्न उठेको थियो। यसअघि संसदीय समितिमै पुगेर प्रधानसेनापति प्रभुराम शर्माले पनि सिग्देलका कागजातमा कुनै कैफियत नभेटिएको बताएका थिए। 

प्रश्न उठिसकेपछि सेनाले सम्बन्धित कार्यालयहरूबाट कागजात प्रमाणीकरण गरेको र कुनै कैफियत फेला नपरेको दाबी गरेको छ। 

रथी सिग्देलले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट पहिलो पटक २०४० साल साउन २९ गते नागरिकता लिएका थिए। उक्त नागरिकतामा जन्म मिति उल्लेख छैन। उमेर १७ वर्ष खुलाइएको छ। 

नागरिकता लिएको ठिक एक महिनापछि एसएलसीको प्रमाण पत्र लिएको देखिएको छ। २०४० भदौ २९ गतेको मितिमा जारी भएको प्रमाण पत्रमा २०२३ साल माघ १९ गते जन्म मिति उल्लेख छ। सैनिक प्रवक्ता केसीले यी प्रमाण सार्वजनिक गर्दै बिहीबार सिग्देलको बचाउ गरेका हुन्। 

साउनमा नागरिकता जारी हुँदै १७ वर्ष उमेर उल्लेख गरे पनि शैक्षिक प्रमाण पत्रमा भने माघमा मात्रै १७ पूरा भएको पुष्टि हुन्छ। तर सैनिक सेवा नियमावली २०६९ मा नागरिकता र शैक्षिक प्रमाण पत्रमा एक वर्षभन्दा कम उमेर फरक परेमा जुनमा पूरा मिति उल्लेख छ, सोहीले मान्यता पाउने उल्लेख छ। 

नियमावलीको दफा ७७ मा अवकाश सम्बन्धी व्यवस्था छ। सोही दफाको (५) मा भनिएको छ, ‘कुनै प्रमाण पत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाण पत्रमा पूरा जन्म मिति खुलेको रहेछ र त्यस्तो प्रमाण पत्रमा उल्लेखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नु पर्नेछ।’

सिग्देलको नागरिकता जारी गरेको मिति र शैक्षिक प्रमाण पत्रमा उल्लेख जन्ममितिबीच ६ महिनाको फरक देखिएको छ। 

तर सिग्देलले २०५८ साल जेठ ८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका थिए। उक्त प्रतिलिपिमा उनको नागरिकता जारी मिति २०४० साउन २९ उल्लेख छ। यसअघि विभिन्न निकायमा परेको उजुरीमा भने उनको रूपन्देहीबाट जारी भएको नागरिकता २०४० असोज ९ गते जारी भएको दाबी गरिएको थियो। 

उक्त कुरा झुट रहेको र सम्बन्धित कार्यालयबाट पनि प्रमाणीकरण गरिसकेको नेपाली सेनाको दाबी छ।

रथी सिग्देलले नेपाली सेनामा भर्ना हुँदा पेस गरेका प्रमाण पत्र सम्बन्धित कार्यालयबाट पुनः प्रमाणीकरण गराउँदा पनि जन्म मिति फरक नपरेको प्रवक्ता केसीले दाबी गरे। 

संगठनले समेत उनको जन्म मितिमा कुनै कैफियत नरहेको बताएपछि उनलाई अर्को महिना सेनापति बन्ने बाटो खुलेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .