ad ad

समाज


‘४० वर्ष यताका विपद्जन्य घटनामध्ये ८० प्रतिशत जलवायु परिवर्तनबाट’

‘४० वर्ष यताका विपद्जन्य घटनामध्ये ८० प्रतिशत जलवायु परिवर्तनबाट’

नेपालखबर
साउन ३, २०८१ बिहिबार १३:४५, काठमाडौँ

नेपालले जलवायु परिवर्तनबाट भएका विपद्जन्य घटनाहरूलाई विश्वसामु स्पष्टसँग लैजान नसकेको विज्ञहरूले बताएका छन्।

विज्ञहरूले नेपालको हकमा जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरू भइरहेको जिकिर गरे।

वातवरण तथा प्रकोपविद् दीपकविक्रम थापा क्षेत्रीले नेपालले जलवायुजन्य विपद्बाट परेका असरहरू विश्वसामु संख्यात्मक हिसावमा मात्रै देखाएको भन्दै जलवायुबाट निम्तिएका घटनाहरूलाई यथेष्ठ प्रमाणसहित लैजान आवश्यक रहेको बताए।

उनले जलवायुजन्य विपद्का घटनाहरू कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरू जुटाउन सरकासँग आग्रह गरे। हिमाल पग्लिरहेको कुरादेखि कृषि र समाजमा परेको असरलाई राम्रोसँग नियाल्न र विश्वसामु देखाउन नसकेको बताए।

उनले विश्वलाई देखाउनका लागि नेपालसँग जलवायुजन्य विपद्बाट भएका घटनाहरू यकिन गरि नसकेको बताए। नेपालसँग जलवायु परिवर्तनका कारण भएका विपद्जन्य घटनाहरू वैज्ञानिक रुपमा पनि प्रमाणित भइसकेको केही घटनाहरू रहेको उनको भनाई छ।

उनले भने, ‘नेपालको हकमा हामीले जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरू पनि देखिरहेका छन्। तर त्यो घटनाहरूलाई हामीले विश्वसामु राम्रो र स्पष्टसँग लैजान सकेका छैनौँ। हामी संख्यात्मक हिसावमा देखायौँ तर त्यसले हामीले कति समस्यामा पारेको छ, यस्ता घटनाहरू कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरू जुटाएर बोल्न सकेका छैनौँ।’

विज्ञ क्षेत्रीले विगत ४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिब ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट भएको बताए। उनकाअनुसार युएनले गरेको सर्वेक्षणअनुसार १९७० देखि २०१९ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा भएका विपद्जन्य घटनामध्ये ७९ प्रतिशत घटना जलवायु परिवर्तनका कारणले भएका छन्।

नेपाल जस्तो विकासोन्मुख देशहरू ८० प्रतिशत जलवायु परिवर्तनको जोखिममा परेको बताए। पूर्वसूचना प्रणालीको विकास गर्नसके मात्रै नेपाल जस्ता विकासोन्मुख देशहरूले जलवायुजन्य परिवर्तनका कारण हुने घटनालाई कम गर्नसक्ने जिकिर गरे।

पूर्वसूचना प्रणालीलाई विकास गर्न नसके झनै भयावह अवस्था आउने बताए। विकसित देशहरू भन्दा १० गुणा बढी क्षति नेपाल लगायतका देशलाई जलवायु परिवर्तनका कारण भएको बताए। जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न स्पष्ट योजना बनाउन जरुरी रहेको बताए।

विपद्पूर्व तयारीका लागि आज एक रुपैयाँ खर्च गर्दा भविष्यमा ४ रुपैयाँ बचाउन सकिन्छ
विपदविज्ञ क्षेत्रीले नेपालले ०‍.०२ प्रतिशत मात्रै हरित गृह ग्यास उत्सर्जन गरेको भन्दै कम उत्सर्जन गर्ने देशले नै बढी क्षति व्यहोरिरहेको बताए। उनले नेपाल ज्लवायुजन्य विपद् बढी व्यहोर्ने देशमा चौथो नम्बरमा रहेको बताए।

यसबारेमा विश्वस्तरमा एक आवाजमा लैजानसके सो बराबरको क्षति विकसित देशहरूले व्यहोर्ने वातावरण बन्ने उनको जिकीर छ।उनले विकासका बजेटहरूमा नेपालले लगभग ०.४७ प्रतिशत मात्रै लगानी गरेको बताए।

उनले विपद्सम्बन्धी बजेटमा ४ प्रतिशत बजेट मात्रै विपद्पूर्व तयारीको लागि प्रयोग हुने गरेको बताए। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा जलवायु परिवर्तनको बारेमा वकालत गरिएको भएपनि त्यसपछिका दिनमा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई कम प्राथमिकता दिइएको बताए।

जलवायु परिवर्तनका कारण प्रकोपीय जोखिमका हिसावमा नेपाल खतरायुक्त रहेकोबारे विश्वलाई बुझाउन सक्नुपर्ने उनको सुझाव छ।

उनले भने, ‘त्यो स्टोरीहरूलाई इन्टरनेसनल लेभलमा हामीले लिएर जानसक्यौँ भने हामीसँग जोखिमबाट हुने, ब्यालेन्सिङका कुरा हुन्छ। भोलि हुने विकासले अडिट गरियो भने १ डलर मात्रै विपद्पूर्व वा क्लाइमेट चेन्जको हकमा गर्ने हो भने भोलि गएर ४ डलर बचाउन सकिन्छ।’

(न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .