समाज


बागलुङका पाँच विद्यालयमा ‘नर्सिङ सेवा’

बागलुङका पाँच विद्यालयमा ‘नर्सिङ सेवा’

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ७:४१,

विद्यालयमा आउने स्वास्थ्य समस्या तथा सचेतनाका लागि बागलुङ नगरपालिकाका पाँच विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा लागू भएको छ।

विद्यालयका छात्रालाई लक्षित गरी नेपालका विभिन्न स्थानीय तहमा नर्सिङ तथा स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यसाथ उक्त सेवा सञ्चालनका लागि बिहीबार स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखा, नगरपालिका र पाँच विद्यालयबीच सम्झौता भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

विद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यमिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्य सेवा कार्यक्रम लागू गरिएको हो। मन्त्रालयका नर्सिङ महाशाखाका अनुसार विद्यालयमा एक–एक नर्ससहित आवश्यक औषधि र सामान्य उपकरणको व्यवस्था गरिनेछ।

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्या अधिक तथा स्वास्थ्य सेवा टाढाजस्ता सूचकका आधारमा पहिलो चरणमा ती विद्यालय छनोट गरिएको महाशाखाका प्रशासक बाला राईले जानकारी दिए।

“हामीले विद्यालयस्तरबाटै स्वास्थ्य सेवा प्रदान गर्न नयाँ अवधारणा ल्याएका हौँ”, प्रशासक राईले भने, “छात्राको महिनावारीको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचारसम्मको व्यवस्था गरिनेछ।”

नर्सिङ महाशाखाले विद्यालयमा नर्सको दरबन्दी, औषधि तथा आवश्यक पर्ने सम्पूर्ण वस्तु उपलब्ध गराउनेछ। कार्यक्रम शुरु भएको एक वर्षपछि कार्यविधिअनुसार प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको नर्सिङ प्रशासक राईले जानकारी दिए।

उक्त सेवा सम्झौता भइसकेपछि दरबन्दीअनुसारको विज्ञापन गरेर तत्कालै लागू गरिनेछ। प्रशासक राई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्मा र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले नर्सिङ स्वास्थ्य सेवाको सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्।

नेपालमा भर्खरै मात्र विद्यालयस्तरबाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधि उपचारका लागि नर्सिङ स्वास्थ्य सेवा प्रदेश एक, दुई र तीनले केही स्थानीय तहका विद्यालयमा लागू गरेका छन्। स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम शुरु गरेको हो।

नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थी लाभान्वित हुने अपेक्षा छ। कार्यक्रममार्फत स्वस्थ रहन आवश्यक खानपान, व्यायाम, औषधि उपचार सेवालगायतका विषयमा जानकारी गराइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad