ad ad

समाज


मिस हुनेछन् खरिपाटी क्वारेन्टाइनका साथी

मिस हुनेछन् खरिपाटी क्वारेन्टाइनका साथी

यज्ञराज जोशी
फागुन १५, २०७६ बिहिबार ९:४२,

 चीनको हुबेई प्रान्तको वुहानलाई कोरोना (कोभिद–१९) भाइरसले ग्रस्त बनाएपछि सरकारले दुई साताअघि १ सय ७५ जना नेपालीलाई विशेष विमानमार्फत् काठमाडौं ल्याएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार कोरोना भाइरसको संक्रमण १४ दिनसम्म देखिनसक्ने भन्दै उनीहरुलाई गत फागुन ४ गतेदेखि त्यहाँ राखिएको हो। त्यसअनुरुप उनीहरु क्वारेन्टाइनबाट निस्किने मिति आगामी आइतबार (फागुन १८) गते हो। तर अन्तिम परीक्षण रिपोर्ट आउन थप केही समय लागेमा उनीहरुको क्वारेन्टाइन बसाइ एक–दुई दिन लम्बिन सक्छ।

वुहानमा एकातिर संक्रमण फैलिने त्रास र अर्कातिर शहर ठप्प, अत्यावश्यक सामाग्री समेत नपाइने संकटबीच उनीहरुलाई नेपाल ल्याइएको थियो। भक्तपुरस्थित क्वारेन्टाइनमा दुई हप्ता बिताइसकेका उनीहरु अब परिवारसँग भेट्ने आतुर छन्।

क्वारेन्टाइनका रहेका अशोक साह श्रीमती सुधा र परिवारलाई भेट्ने दिन नजिकिएकोमा उत्साही भेटिए। ‘एकदमै उत्सुक छु। बिहे भएको मान्छे, केही लामो समय श्रीमतीसँग पनि अलग बस्नुपर्या,’ साहले नेपालखबरसँग भने, ‘बुबा, मम्मी, हजुरआमा परिवारसँग पनि भेट गर्न आतुर छु। अर्कातिर व्यक्तिगत कामहरु पनि थाँती छन्। यहाँबाट बाहिर निस्केपछि तिनलाई पूरा गर्नेछु।’

Kharipati quarantine1
ब्याडमिन्टन र भलिबल खेलेर रमाइलो गर्दै क्वारेन्टाइनमा रहेका विधार्थीहरु। तस्बिर: फेसबुक

कोरोना भाइरसको संक्रमण फैलनुअघि अशोक र श्रीमती सुधा वुहानमै अध्ययन गर्थे। अशोक पीएचडी अध्ययन गरिरहेका थिए भने सुधा स्नातकोत्तर अध्ययनरत थिइन्।

भाइरसको संक्रमण फैलनुअघि नै विश्वविद्यालयको विदा भएकाले अशोकले सुधालाई नेपाल पठाएका थिए। त्यसपछि फैलिएको कोरोनाका कारण अशोक भने उतै थुनिए। श्रीमानलाई संक्रमण हुने हो कि भन्ने चिन्ताले त्यसबेला सुधालाई कम सताएको थिएन। तर, सुरक्षित नेपाल आएर क्वारेन्टाइनमा राखेपछि भने सुधाको छटपटी घटेको थियो।

क्वारेन्टाइनमा रहेका अर्का विधार्थी सौरभ लुइँटेल पनि परिवारसँग भेट्न आतुर छन्। ‘वुहानको विषम परिस्थितिबाट केही ढिलो गरे पनि सरकारले उद्धार गरेर ल्याएपछि एक हिसाबले परिवार ढुक्क थियो,’ सौरभ भन्छन्, ‘यहाँबाट फोनमा कुराकानी भइ नै रहन्छ तर भौतिक रुपमा छोरो भेट्न पाउँदा बुबा आमा निकै खुशी हुनुहुनेछ।’

सौरभका बुबा यसोदाप्रसादले पनि छोरोको न्यास्रो लागेको अनुभव सुनाए। 'वुहानबाट काठमाडौं आउँदा त घरै पुगेजस्तो लागेको थियो। छोरो मोटो, पातलो कस्तो भएको छ प्रत्यक्ष भेट्न मन छ।  कहिले १४ दिन बित्ला र भेटौंला भन्ने लागेको छ,' उनले भने।

क्वारेन्टाइनमा रहेका चन्द्रभुषण यादवको घर धनुषा हो। क्वारेन्टाइन अवधिभर संक्रमण फैलने जोखिमले कसैलाई भेट्न दिइएको छैन। चन्द्रभुषणलाई क्वारेन्टाइनबाट निस्कने बित्तिकै घर जाने हतारो छ। ‘यहाँ हुँदा कसैलाई भेट्न दिइएन। अब निस्कने बित्तिकै घर जाने तयारीमा छु,’ चन्द्रभुषण नेपालखबरसँग भन्छन्।

चन्द्रभुषणका बुबा रामपल्टनलाई पनि छोरालाई भेट्ने चाहना तीव्र छ। वुहानमा कोरोनाको प्रकोप फैलिएपछि छोरालाई नेपाल फर्काउने वातावरण मिलाइदिन भन्दै रामपल्टनले काठमाडौंमा १५ दिन सरकारी निकाय र विपक्षी दलका नेताको दैलो चहारेका थिए।

‘क्वारेन्टाइनमा ल्याएपछि छोरासँग फोनमा कुरा भइरहेको छ। त्यहाँ (क्वारेन्टाइन) सबै व्यवस्था ठिकै छ भनेपछि मन हलुंगो भयो। अब कहिले १४ दिन बित्ला र छोरोलाई भेटौंला भन्ने भएको छ,’ रामपल्टन भन्छन्।

‘मिस हुनेछन् क्वारेन्टाइनका साथी’
कोरोनाको प्रकोप फैलनुअघि वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययन गर्ने चन्द्रभूषण बस्ने ७ तल्ले होस्टेलमा विभिन्न देशका १ सय ५० जना विद्यार्थी थिए। प्रकोप फैलिँदै गएपछि होस्टेल रित्तियो। उनी होस्टलमा एक्ला नेपाली थिए।

वुहानमा एक्लै दुई हप्ता बिताएका चन्द्रभुषणको क्वारेन्टाइनमा आएपछि भने थुप्रै साथीहरु बने। अब क्वारेन्टाइनबाट निस्कदा यी साथीहरु ‘मिस’ हुने उनी बताउँछन्।

‘हामी यतिका दिन एक परिवारजस्तै बस्यौं। सबैले सँगै खायौं, खेल्यौं। वुहानमा नचिनिएकाहरु यहाँ साथीहरु बने। अब यहाँबाट बाहिर निस्किँदा सबै मिस हुनेछन्,’ चन्द्रभुषण भन्छन्।
भौतिक रुपमा टाढा भएपनि सामाजिक सञ्जालमा भने एकअर्कासँग जोडिरहने उनी बताउँछन्।

क्वारेन्टाइन बनाइएको स्थान शान्त, मनमोहक भएको विद्यार्थीको अनुभव छ। ‘यो स्थान शान्त स्थानमा छ। प्रदूषण होहल्ला नहुने। छतमा चढ्यो भने त घाम पनि ताप्न पाइने अनि हिमालको मनमोहक दृश्य पनि देखिने,’ साह भन्छन्।

busssssss
चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपालीलाई विमानस्थलबाट खरिपाटीस्थित क्वारेन्टाइनतर्फ लगिँदै। तस्विरः रासस

क्वारेन्टाइन परिसरको ब्याडमिन्टन खेल्ने कोर्ट उनीहरु एक आपसमा भेला हुने ठाउँ हो। त्यहाँ उनीहरुले भलिबल, लुडो, क्रिकेट लगायतका खेलहरु खेलेर समय उपयोग गर्थे। विहान–विहानसँगै हिँड्थे। साँझपख म्युजिक बजाएर मनोरञ्जन लिन्थे।अर्को क्वारेन्टाइनमा रहेका विधार्थी सौरभ पनि क्वारेन्टाइनमा रहेका साथीहरु ‘मिस’ हुने बताउँछन्।

‘हामीले एकदमै सौहार्दपूर्ण वातावरणमा रमाइलो तरिकाले यी दिनहरु बितायौं। आज १२ दिन बिताइसक्दा यत्रो दिन बितिसक्यो र भन्ने जस्तो अनुभव भइरहेको छ,’ उनी भन्छन्, ‘क्वारेन्टाइनबाट बाहिरिदैँ गर्दा मलाई यो परिवार खुबै मिस हुनेछ।’ सौभरजस्तै अशोक पनि क्वारेन्टाइनमा १२ दिन बितेको पत्तै नभएको बताउँछन्।

‘क्वारेन्टाइनमा के होला? कस्तो होला? भन्ने लागेको थियो। यहाँ सोचेको भन्दा एकदमै राम्रो व्यवस्था गरिएको रहेछ,’ अशोकले भने, ‘खाने, बस्ने, मनोरञ्जन गर्ने व्यवस्था निकै राम्रो थियो। दिन बितेको पत्तै भएन।’

फेरिएको व्यवहार
वुहानबाट नेपाल ल्याइएका एक सय ७५ जनालाई विहान त्रिभुवन विमानस्थलमा पहिलो चरणको स्वास्थ्य जाँच गरिएको थियो। त्यसमा कोही पनि शंकास्पद नदेखिएपछि उनीहरुलाई भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको)मा लगिएको थियो।

पहिलो दिन विमानस्थलमा उत्रँदा आफूहरुलाई नेपालीहरुलाई संक्रमित झै व्यवहार गर्नेहरु पछि घुलमिल हुँदै गएको क्वारेन्टाइनमा रहेका नेपालीहरुको अनुभव छ।

kharipati5
खरिपाटी क्वारेन्टाइनमा रहेका विधार्थीहरुको स्वास्थ्य नमूना परिक्षणमा खटिएको चिकित्सक टोली

‘सुरुमा आउँदा हामी पनि संक्रमित हौं कि? हामीबाट पो सर्ने हो कि? भन्ने डर स्वास्थ्यकर्मी लगायतलाई पनि थियो। हामीलाई टाढैबाट यसो गर्नुस्, उसो गर्नुस् भनेर निर्देशन आउँथ्यो,’ पीएचडीका विद्यार्थी साह भन्छन्, ‘क्वारेन्टाइनमा आए लगत्तै हाम्रो परिक्षणमा सबैको नेगेटिभ (संक्रमित नभएको) देखिएपछि सबै घुलमिल हुन थाले। शुरुमा डराएका खाना–खाजा पुर्याउने, सरसफाई गर्ने कर्मचारी समेत ढुक्क भएर हामीसामु आउन लागे।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ डा. रञ्जीत साहको नेतृत्वको टोलीले खरिपाटी पु¥याएको दिन नै सबै नेपालीको घाँटी र नाकको स्वाब नमुना संकलन गरेको थियो। त्यसको दुई दिन पछि आएको नमूना परिक्षण रिपोर्टमा क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य देखिएका थिए।

शनिबार अन्तिम टेस्ट
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर दाहालका अनुसार यही शनिबार(फागुन १७) गते क्वारेन्टाइनमा रहेकाहरुको अन्तिम टेस्ट हुनेछ।

यसअघि टेस्ट गरेका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ डा. रञ्जीत साहको नेतृत्वमा नै पुनः उनीहरुको अन्तिम टेस्ट हुने सम्भावना छ। हालसम्म प्रत्येक दिने हुने ज्वरो जाँचका क्रममा कसैमा पनि कुनै लक्षण देखिएको छैन।

‘घाँटी र नाँकको स्वाबको परिक्षणको रिपोर्ट पश्चात उनीहरुलाई क्वारेन्टाइनबाट निकालिने छ,’ दाहालले भने।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सरकारले १४ दिन क्वारेन्टाइनमा राख्ने भनेपछि शनिबार नमुना लिएपछि त्यसको रिपोर्ट आउन बढीमा ७२ घण्टासम्म लाग्ने भएकाले थप एक–दुई दिन नेपालीहरुले क्वारेन्टाइनमै बस्नुपर्ने अवस्था रहनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .