ad ad

समाज


ठगीको मुद्दा लागेपछि फरार लालीगुराँस सहकारीका अध्यक्ष र सीईओसहित ४ जना पक्राउ

ठगीको मुद्दा लागेपछि फरार लालीगुराँस सहकारीका अध्यक्ष र सीईओसहित ४ जना पक्राउ

नेपालखबर
असार १६, २०८१ आइतबार १३:४३, काठमाडौँ

नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान छन्।

ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीले सर्वसाधारणलाई आकर्षक ब्याज र चाहिएको बेला रकम झिक्न दिने भनी सञ्चालकलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको प्रहरीको आरोप छ। 

साथै बचतकर्ताको निक्षेप समेत अपचलन गरी ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध गत चैत १ मा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी मुद्दा दर्ता भएको थियो। सोसँगै प्रहरीले अनुसन्धान सुरु गरेपछि चारै जना फरार थिए।

गत शुक्रबार उनीहरुलाई पक्राउ गरेर प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 

को हुन् अध्यक्ष श्रेष्ठ? 
७६ वर्षीय अध्यक्ष अमरदास श्रेष्ठ ३१ वर्ष नेपाल बैंकको मुख्य कार्यालय न्युरोडमा प्रमुख प्रबन्धक भई काम गरेका व्यक्ति हुन्। ०६१ सालमा उनी सहकारीको सचिवको रुपमा २ वर्ष काम गरेको प्रहरीले जनाएको छ। ०६४ सालमा सहकारीको उपाध्यक्ष भएका उनले सोही हैसियतमा ८ वर्ष काम गरेका छन्। ०७४ सालदेखि हालसम्म उनी अध्यक्षको भूमिकामा छन्। 

यता सीईओ सुरेन्द्र भण्डारी उक्त सहकारीमा २०५६ सालदेखि विभिन्न भूमिकामा रहँदै आएका व्यक्ति हुन्। उनी २०५६ मा प्रबन्धकको भूमिकामा सहकारीमा प्रवेश गरेका थिए। त्यसपछि सीईओ, सञ्चालक हुँदै सीईओ तथा सचिव पदमा कार्यरत रहेका छन्। २०६६ र २०७६ मा गरी उनी सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक पदमा समेत रहिसकेका व्यक्ति हुन्। यसबाहेक राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ सञ्चालकमा रहेर उनले करिब ६ वर्ष (०७२ देखि ०७७) सम्म काम गरेका थिए। 

लालीगुराँस सहकारीमा २२ हजार जना बचतकर्ताले पैसा जम्मा गरेका छन्। सबै बचतकर्ताको कुल ६ अर्ब ३० करोड यो सहकारीमा बचत छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .